जनता टाइम्स

२९ भाद्र २०७७, सोमबार ०७:३६

रोमान्स गर्न युवतीले अपहरणको नाटक गरेपछि…


बाँके, भदौ २९ । फेसबुकमा झुटको साहरा लिएकै कारण अपहरणको नाटक गर्दा एक महिला पक्राउ परेकी छन । प्रहरीले बर्दियाको ठाकुरबाबा नगरपालिका ४ मैनवा घर भई नेपालगञ्ज उपमहानगरपालिका ६ फूलटेक्रा बस्दै आएकी ३३ वर्षीय आशिककुमारी चौधरीलाई शनिवार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार चौधरीले काल्पनिक घटना बनाएर आफू अपहरणमा परेको नाटक गरेकी थिइन । चौधरीले सानु दहितको नामबाट सुन्दर केटीको फोटो राखेर फेसबुक आईडी बनाई नवलपरासीका एकजना युवकलाई साथी बनाएकी थिइन् । केटालाई भेट्नु पर्ने बाध्यता आइलागेपछि उनले अपहरणको नाटक गरेको प्रहरी समक्ष बताएकी छन।

फेसबुकमा उनले ती युवकसँग आफू २२ वर्षीया युवती भएको, आफ्नै व्यापार भएको, नेपालगञ्ज र पोखरामा घर भएको झुटो जानकारी दिएकी थिइन । चौधरीले गत २६ गते आफ्नै गाडीमा नेपालगञ्जबाट पोखरा जान लागेको र बाटोमा भेटेर सँगै पोखरा जाने बताएकी उनले चन्द्रौटामा आफू गाडीसहित अपहरणमा परेको खबर ती केटा साथीलाई गरेकी थिइन् ।

अनुसन्धानका क्रममा सबै झुटो भएको खुलेपछि प्रहरीले नियन्त्रणलाई लिएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा ती महिलाले फेसबुकमा साथी बनाई रोमान्स गर्नका लागि नाटक गरेको बताएकी छन ।