जनता टाइम्स

२९ भाद्र २०७७, सोमबार ११:३०

शिर्शुवामा पहिरो : तीन वर्षीया बालिकाको मृत्यु


पर्वत, भदौ २९

फलेवास नगरपालिका–४ मुडिकुवास्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ । स्थानीयवासी नवीन विकको घर पुरिँदा उहाँकी तीन वर्षीया छोरी निकिताको मृत्यु भएको हो । आयतबारराति २ बजेदेखि निरन्तर परेको वर्षापछि घरमाथिबाट खसेको पहिरामा पुरिएकी बालिकालाई बिहान करिब ७ बजे स्थानीयवासीले मृतावस्थामा फेला पारेका हुन् ।

परिवारका अन्य व्यक्ति भने पहिरो खसिरहेका अवस्थामा भागेर बाँच्न सफल भएको फलेवास प्रहरीचौकीले जनाएको छ । १२ जनाको संयुक्त परिवार बसेको घरमा पहिराले क्षति पुर्याएको हो । घरमाथिबाट पहिरो खस्न थालेपछि निदाइरहेकी छोरीलाई काखमा लिएर भाग्ने क्रममा ढुङ्गाले लागेर खसेपछि स्थानीयवासीले खोजी शुरु गरेका थिए । पहिराले विकका दुई भैँसी र दुई गाईसमेत पुरिएका छन् । त्यस्तै पहिराबाट स्थानीयवासी रामप्रसाद तिवारीको गोठ भत्किँदा गोरु मरेको छ ।

सोही पहिराका कारण करिब १०० रोपनी धानखेतमा क्षति पुगेको वडाध्यक्ष टीकाराम गौडेलले जानकारी दिनुभयो । पर्वत प्रहरीका प्रवक्ता एवं निरीक्षक बुद्धिप्रसाद सुवेदीका अनुसार राति पहिरो खसेपछि मध्यपहाडी लोकमार्गको पर्वतखण्ड अवरुद्ध भएको छ । कुश्मा–८ चुवा र कुश्मा–१ पाङको सहस्रधारामा खसेको पहिराले राजमार्ग अवरुद्ध भएको हो । त्यस्तै कुश्मा नगरपालिका–२ स्थित रिठेखोलामा आएको बाढीले समेत यातायात अवरुद्ध बनेको छ ।