जनता टाइम्स

२९ भाद्र २०७७, सोमबार १९:१४

बाख्रापालनबाटै मासिक एक लाख बढी आम्दानी


नवलपरासी, जेठ २९ । लकडाउनले घर बाहिर निस्कन नपाउँदा अहिले धेरै युवाहरु टीकटक बनाउने धुनमा मोबाइलमै व्यस्त देखिन्छन तर २२ बर्षीय युवा सुरज सापकोटालाई भने फोन उठाउन पनि भ्याईनभ्याई छ । बिहान उठेपछि राति नसुतेसम्म बाख्रालाई दानापानी दिने, घाँस काट्ने, खोर सफा गर्ने, पाठापाठीको स्याहार सुसार गर्ने, खरिद गर्न आउने ग्राहकसँग मोलमोलाई गर्नु सापकोटाको दैनिकी बनेको छ । अर्थात बरालिने वा कुण्ठा पोखेर बस्ने बिल्कुलै समय छैन सापकोटासँग ।

उमेरले भर्खर २२ लाग्नुभएका सापकोटा अरु भन्दा बिल्कुलै फरक ढंगबाट जीवन चलाइरहनु भएको छ । उहाँले यसरी आफ्नो दिनचर्या बिताउन लागेको दुई वर्ष बितिससकेको छ । नवलपरासी पूर्व (नवलपुरको) हुप्सेकोट गाउँपालिका चार शंकदेवका सापकोटाले २० वर्षकै उमेरबाट बाख्रापालन व्यवसाय सुरु गर्नुभएको थियो । कक्षा १२ कक्षा उत्तीर्ण गरेपछि केही समय शिक्षण पेशामा लाग्नुभएका सापकोटाले बाख्रा पालन गर्ने सोँच बनाउनुभयो । आफन्त र साथीभाईको सल्लाह अस्वीकार गर्दै बिदेश जानुको साटो बाख्रापालनतिर होमिनु भयो ।

आफ्नै बुवा र दाई बैदेशिक रोजगारमै रहेको र उहाँहरुबाट सुनेको दुःख बुझेकै कारण उहाँले बिदेश भन्दा यो पेशा रोज्नुभयो । दुई वर्ष अघि २० लाख रुपियाँको लगानीमा सापकोटाले आफ्नै छिमेकी खगेन्द्र भुर्तेलसँग मिलेर शंखदेव युवा कृषि प्रालिको स्थापना गरी उन्नत जातको बोयर बाख्रापालन सुरु गर्नुभयो । केही स्थानीय जात समेत गरी ७० वटा बाख्राबाट सुरुवात गरिएको बाख्रा फर्ममा अहिले माउ पाठापाठी गरी करीब १५० बाख्रा छन । मासुका लागि भन्दा पनि पाठापाठी उत्पादन गरी बिक्री वितरण गर्ने सोँच बनाएर सुरु गरेको व्यवसाय अहिले राम्रै फस्टाएको सापकोटा बताउनुहुन्छ ।

बजारका लागि पनि कुनै समस्या छैन । किसानले खोरमै आएर पाठापाठी खरिद गरेर लैजान्छन् । नवलपुर सहित चितवन, काठमाडौं, पोखरालगायतका विभिन्न जिल्लाबाट बोयर जातका बाख्रा पालन सुरु गर्न थालेका किसानहरु पठापाठी खरीद गर्न आउँछन् । पत्रकार ज्ञानु पंगेनीसँग सापकोटाले सुनाए अनुसार एउटाको १२ देखि १५ सय रुपैयाँसम्म पाठापाठी बिक्री हुने गरेको छ । सापकोटाका अनुसार अहिले खर्च कटाएर मासिक एक लाख रुपैयाँ आम्दानी हुने गरेको छ । डेढ विघा जग्गा लिजमा र आफ्नै गरि करीब चार विघा क्षेत्रफलमा व्यवसाय सुरु गरेको सापकोटाले बताउनुभयो ।

सापकोटासंगै सहकार्य गर्नुभएका ३२ वर्षका खगेन्द्र भुर्तेलले बाख्रा पालन व्यवसायबाट सन्तुष्टि मिलेको बताउनुहुन्छ । चार वर्षसम्म साउदीमा दुःख गरेको सम्झदै भुर्तेल गर्न सके स्वदेशै विदेशमा भन्दा बढी कमाउन सकिने प्रमाणित गरेको बताउनुहुन्छ । ‘चार वर्षसम्मा अर्काको देशमा धेरै कष्ट सहेर बसेँ, विदेशमा पैसा कमाउन कहाँ सजिलो छ र ? मरेर काम गर्नुपर्छ, त्यहाँ गर्ने मिहिनेत आफ्नै देशमा गर्न सके भविष्य यहीँ छ,’ भुर्तेलले भन्नुभयो ।

बाख्रा पालनसंगै घाँस खेती समेत सुरु गरेको भुर्तेलले बताउनुभयो । साढे तीन विघा जग्गामा घाँसखेती गरेको भुर्तेलले जानकारी दिनुभयो । बाख्राका लागि निकै पोषिलो मानिएको उन्नत जातको सुपर नेपियर घाँस खेतिबाट समेत आम्दानी गर्दै आएको भुर्तेलले बताउनुभयो । उहाँका अनुसार हालसम्म १७ वटा जिल्लामा घाँस निर्यात गरिएको छ । घाँस बिक्रीबाट मात्रै पाँच लाख आम्दानी गरेको भुर्तेलले जानकारी दिनुभयो ।