जनता टाइम्स

३१ भाद्र २०७७, बुधबार ११:२८

प्याजले फेरी रुवायो : थोक मै विहान ४५ रुपैयाँ साँझ १०० रुपैयाँ


काठमाडौं, भदौ ३१

मंगलबार विहान राजधानीका अधिकाशं तरकारी बजारमा प्याजको मुल्य ४५ देखि बढिमा ६० रुपैयाँ प्रतिकिलो बिक्रि भईरहेको थियो । मानिसहरुले विहानै तरकारी बजारमा जाँदा खुद्रा पसलमा समेत बढिमा ७० रुपैयाँ प्रतिकेजी प्याज किनिरहेका थिए ।

मंगलबार विहानै विभिन्न सञ्चारमाध्यममा एउटा समाचार प्रकाशित भयो । भारतले प्याज निर्यातमा रोक लगायो भन्ने समाचार प्रकाशित भएपछि त्यो समाचार एकाएक भाइरल भयो । समाचार भाइरल बनिसक्दा लगभग दिउसो भइसकेको थियो । त्यो समाचार व्यापारीले समेत थाहा पाए ।

काठमाडौं उपत्यकामा विशेष गरी तरकारीको कारोबार विहान र साँझमा हुने गरेको छ । प्याजमा नेपाल भारतसँग परनिर्भर रहेको छ । त्यसैकारण नेपालमा प्याजको अभाव हुने देखेर दिउसैबाट उपभोक्ता र खुद्रा व्यापारीले प्याजको जोहो गर्न थाले । सोही मौका छोपेर व्यापारीले पनि करिव ६ घण्टामै प्याजको मुल्यमा ४० रुपैयाँ देखी ६० रुपैयाँसम्म प्रतिकिलोमै बढाए ।

विहान प्रशस्त रहेको प्याज दिउसोबाट एकाएक बजारबाटै हरायो अर्थात लुकाइयो । उपभोक्ताले साँझ सोही प्याज प्रतिकिलो १०० रुपैयाँ मंहगोमा किन्न बाध्य भए । भारतले निर्यातमा मात्र प्रतिबन्ध लगाएपनि व्यापारीले भाउ नै बढाएको जसरी प्याजको भाउ एक्कासी बढाए । मंगलबार साँझ ९० देखि १०० रुपैयाँ रहेको प्याजको भाउ बुधबार विहान त १२० देखि १३० रुपैयाँ प्रतिकिलो पुगेको उपभोक्ताले गुनासो गरेका छन् ।

भाटभटेनी सुपरमार्केटले पनि मंगलबार दिउसैबाट प्याज प्रतिकिलो ११५ रुपैयाँले बेचिरहेको छ । ब्यापारीले बजारमा प्याज पाइनै छाडेको भन्दै पाइएको प्याजपनि थोकमै निक्कै महंगो रहेको बताएका छन् ।

यता वाणिज्य विभागले भने प्याजको मूल्य बृद्धिबारे बजार अनुगमन सुरु भएको जनाएको छ । मंगलबारदेखि नै ‘अप्रेसन प्याज अभियान’ चलाएको विभागले जनाएको छ । तीन वटा खुद्रा र तीनवटा थोक पसलमा गरिएको अनुगमनमा ४५ रुपैयाँमा किनिएको प्याजलाई एक सय १० रुपैयाँसम्ममा बिक्री गरिएको पाइएको विभागले जनाएको छ ।