जनता टाइम्स

१ आश्विन २०७७, बिहीबार ०७:१७

आजदेखि सबैखाले सार्वजनिक गाडी सञ्चालन, वायुसेवा कम्पनीहरूले उडान नगर्ने


काठमाडौं,  असोज १ । झण्डै छ महिनादेखि थन्किएका मध्यम र लामो रुटका बस सञ्चालनका लागि तयारी भइसकेको यातायात व्यवसायीले बताएका छन् ।

यातायात व्यवसायी र चालक महासङ्घ सम्मिलित संयुक्त कार्यदलले आजबाट बस सञ्चालनका लागि सबैलाई अनुरोध गरेको छ । बुधवार एक विज्ञप्ति जारी गर्दै कार्यदलले सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन अनुरोध गरेको छ । चालक, सहचालकले मास्क, पञ्जा, सेनेटाइजर र सहचालकले फेस भाइजरको प्रयोग अनिवार्य रुपमा गर्न भनिएको छ । यात्रुले यात्रा अवधिभर मास्क लगाउन र सवारीसाधनमा चढ्दा, ओर्लदा र खाजा खाँदा भीड नगर्न भनिएको छ ।

कार्यदलले बुधवार नै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई भेटेर बस सञ्चालनको प्रस्ताव मन्त्रीपरिषद्मा लगेकोमा धन्यवाद दिएको थियो । मन्त्री नेम्वाङलले आबश्यक सबै स्वास्थ्य सुरक्षा अपनाएर मात्रै बस सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले तोकेको मापदण्ड पूरा गरेर सेवामा जान आग्रह गर्नुभयो ।

मन्त्री नेम्वाङले यससम्बन्धी तयारीको जिम्मेवारी यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादूर हमाललाई दिनुभएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बस चलेपछि यात्रुलाई कहाँ खाना, खाजा खुवाउनेलगायतका विषयमा अहिलेसम्म जानकारी नगराएको बताउनुभयो ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले असोज १ देखि लामो रुटको बस सञ्चालनको निर्णय गरेको थियो । यी सवारीसाधनले सिट क्षमताको आधा यात्रु राखेर साविक भाडादरमा ५० प्रतिशत बढी भाडा लिएर यात्रा गराउनुपर्नेछ ।

यसैबिच, सरकारले आन्तरिक हवाई उडान असोज १ गतेबाट खुल्ला गर्ने भने पनि वायुसेवा कम्पनीहरूले ५० प्रतिशत यात्रु बोकेर उडान नगर्ने भएका छन् ।

आन्तरिक उडानको लागि जहाजका सिटमा पूरापूर यात्रु बोकेर उडान गर्न नपाउदा वायुसेवा कम्पनीलाई फाइदाको सट्टा घाटा हुने भन्दै वायुसेवा सञ्चालकहरूले उडान नगर्ने जनाएका छन् ।

उडान गर्नको लागि यात्रुको टिकट बुकिङ खुला पनि नगर्ने र अन्य सार्वजनिक यातायातको साधनलाई सहुलियत दिदा आन्तरिक वायुसेवा कम्पनीको लागि तत्काल राहत घोषणा गरिनुपर्ने वायुसेवा सञ्चालक कम्पनीको माग छ । नागरिक उड्डयन प्राधिकरण र नेपाल अन्तर्राष्ट्रिय नागरिक उड्डयनको मापदण्डअनुसार उडान भर्न पाउनुपर्ने वायुसेवा सञ्चालक संघ नेपालका कोषाध्यक्ष रुपेश जोशीले बताउनुभयो । आधा मात्र यात्रु बोकेर उडान गर्दा कम्पनीको ठूलो नोक्सान हुने उहाको दाबी छ ।