जनता टाइम्स

१ आश्विन २०७७, बिहीबार १०:२१

खुल्यो रेडक्रस पूर्वपदाधिकारीको कर्तुत : गोदामघरका लागि खरिद गरिएको चार आना जग्गा नै गायव


काठमाडौं, असोज १ । नेपाल रेडक्रस सोसाइटीले भक्तपुरमा खरिद गरेको केन्द्रीय गोदाम घरको चार आना जग्गा नै गायव भएको पाइएको छ । नेपाल रेडक्रसका अध्यक्ष डा. नेत्रप्रसाद तिम्सिनासहितको केन्द्रीय टोलीले भत्तपुर नगरपालिका १० स्थित गोदामघरको स्थलगत अनुमगनको क्रममा यस्तो तथ्य खुलेको हो ।

सञ्जीव थापा नेतृत्वको तात्कालिन कार्यसमितिलाई बिघटन गरी नयाँ तदर्थ समिति गठन भएपछि अध्यक्ष तिम्सिना, उपाध्यक्ष शर्मिला कार्की, महासचिव पिताम्बर अर्यालसहितका पदाधिकारीहरुले निर्माणधीन केन्द्रीय गोदाम घरको अनुमगन गर्नुभएको थियो । सो क्रममा खरिद गरिएकोमध्ये चार आना जग्गा गायव भएको तथ्य खुलेको हो । नेपाल रेडक्रसले केन्द्रीय गोदामघरका लागि भक्तपुर १० मा ८५ आना जग्गा खरिद गरेको थियो ।

उक्त जग्गामा हाल भवन निर्माणको काम भइरहेको छ । स्थलतग अनुगमनको क्रममा ८२ अना १ पैसा मात्रै जग्गा फेला परेको छ । अन्तरष्ट्रिय मापदण्डअनुसार जग्गा खरिद पनि गरिएको छैन । तात्कालिन रेडक्रस पदाधिकारीले कमिशनको लोभमा मुल सडक भन्दा निकै भित्रपट्टी जग्गा खरिद गरेको पाइएको छ ।

रेडक्रस अध्यक्ष तिम्सिनाले जग्गा कम भएको बिषयमा जानकारी पाइएकोले खोजी गर्ने जनताटाइम्सलाई जानकारी दिनुभयो । रेडक्रसको जग्गा खरिद गरिएको भन्दा कम भएको जानकारी भएको छ, हामी नक्सा, लालपुर्जा भिडाएर आफ्नो जग्गा सुरक्षित गर्ने काममा लाग्छौं, जनताटाइम्सको जिज्ञासामा अध्यक्ष तिम्सिनाले भन्नुभयो ।

त्यसो त सो जग्गा खरिदका क्रममा बिचौलियाले झण्डै २ करोड रुपैयाँ कमिशनबापत नै लिएको तथ्य यसअघि नै सार्वजनिक भइसकेको छ । २०७२ सालको भूकम्पपछि चिनियाँ रेडक्रसको सहयोगमा सो गोदामघर निर्माणको काम अघि बढेको छ । गोदाम घरका लागि चिनियाँ रेडक्रसले १३ करोड ३३ लाख रुपैयाँ सहयोग गरेको थियो ।