जनता टाइम्स

१ आश्विन २०७७, बिहीबार १४:४०

बामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनीत


काठमाडौं, असोज १ । राष्ट्रपति बिद्यादेवी भण्डारीले राष्ट्रियसभाको रिक्त एक सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई मनोनीत गर्नुभएको छ ।

सरकारको सिफारिशमा राष्ट्रपति भण्डारीले आज पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका नेकपाका उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्नुभएको हो । राष्ट्रपति कार्यालयले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरिएको पत्र राष्ट्रियसभामा पठाइसकेको छ । नेपालको संबिधानअनुसार सरकारको सिफारिशमा राष्ट्रपतिबाट तीन जना बिज्ञ सदस्य मनोनीत गर्ने ब्यवस्था छ ।

राष्ट्रियसभामा बिज्ञको कोटाबाट सरकारको सिफारिशमा नियुक्त हुनुभएका निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल गत फागुनमा सकिएको थियो । गोलाप्रथाबाट कार्यकाल छनोट गर्दा खतिवडाको कार्यकाल दुई बर्ष कायम भएको थियो । सोहीअनुसार गत फागुनमा उहाँको पदावधि सकिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई नै पुनः नियुक्तिका लागि सिफारिश गर्न चाहनुभए पनि नेकपाको सचिवालयले बिज्ञको कोटामा उपाध्यक्ष गौतमलाई नै सिफारिश गर्न सुझाएपछि सोमवार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न राष्ट्रपति समक्ष सिफारिश गरेको थियो । सिफारिश लगत्तै राष्ट्रपति भण्डारीले आज मनोनीत गर्नुभएको हो ।