जनता टाइम्स

१ आश्विन २०७७, बिहीबार १७:३९

राष्ट्रियसभा प्रवेशसँगै तुहियो बामदेवका यी सपना


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमको जनताबाट निर्वाचित भएर गौतमको मुलुकको कार्यकारी प्रमुख (प्रधानमन्त्री) बन्ने सपना सदाका लागि समाप्त भएको छ ।

राष्ट्रपति बिद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्यमा मनोनीत गर्नुभएसँगै नेकपाका प्रभावशाली नेता गौतमको ती अव चुनाव जितेर जनताबाट निर्वाचित हुने र प्रधानमन्त्री बन्ने सपना सदाका लागि समाप्त भएको हो । सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनीत हुने तीनमध्ये एक पदमा गौतम आज मनोनीत भई राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाबाट आजै पद तथा गोपनीयताकोशपथ लिइसक्नु भएको छ । २०७४ सालको निर्वाचनमा आफ्नै गृहजिल्ला बर्दियाबाट पराजीत हुनुभएका गौतम आजबाट माननीय बन्नुभएको छ ।

नेकपामा उपाध्यक्षसँगै सचिवालय सदस्य, संगठन बिभाग प्रमुख गौतम र किसान महासंघको इञ्चार्जको जिम्मेवारीमा रहनुभएका गौतम आजबाट सांसद बन्नुभएको छ । उहाँको चाहना अव मन्त्री बन्ने रहेको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले उहाँको मन्त्री बन्ने चाहना पूरा गरे पनि प्रधानमन्त्री बन्ने र अव चुनाव लडेर बिजयी हुने संभावना भने टरेको छ । उपाध्यक्ष गौतम अहिले ७२ बर्ष पुगिसक्नु भएको छ । राष्ट्रियसभाको ६ बर्षे कार्यकालका लागि मनोनीति भएपछि ७८ सम्म उहाँ सांसद हुनुहुन्छ ।

अवको साँढे दुई बर्षमा प्रतिनिधिसभाको निर्वाचन हुने भएपनि सांसद नै रहेको कारण उहाँलाई चुनावमा उम्मेद्वार बन्न नैतिक रुपमा प्रश्न उठने छ भने चुनाव लडे पनि सांसद छाडेर आयो भन्दै हराउने संभावना रहन्छ । लामो समय नेपाली बाम तथा प्रजातान्त्रिक आन्दोलनमा बिताउनु भएका गौतम इतिहासमा अन्तिम पटक भने बिज्ञको कोटाबाट राष्टियसभा प्रवेश गर्नुभएको छ ।

जननिर्वाचित भएर प्रधानमन्त्री बन्ने बामदेव कमरेडको ठूलो सपना र चाहना थियो, उहाँ त्यो पदका लागि योग्य पनि हो तर अव ती सवै कुरा सकियो, उहाँले मनोनीत भएर राष्ट्रियसभा जाने निर्णय गरेर ती सवै सपना र चाहना परित्याग गर्नुभयो

‘जननिर्वाचित भएर प्रधानमन्त्री बन्ने बामदेव कमरेडको ठूलो सपना र चाहना थियो, उहाँ त्यो पदका लागि योग्य पनि हो तर अव ती सवै कुरा सकियो, उहाँले मनोनीत भएर राष्ट्रियसभा जाने निर्णय गरेर ती सवै सपना र चाहना परित्याग गर्नुभयो,’ नेकपा सचिवालयका एक नेताले जनताटाइम्ससँग भने । ती नेताका अनुसार मनोनीतको बाटो रोजेर बामदेवले भविश्यको सवै सपना चकनाचुर बनाउनु भएको छ ।