जनता टाइम्स

२ आश्विन २०७७, शुक्रबार १०:४७

सप्तरीमा १७ वर्षीया किशोरी बलात्कार गरी भागेका दुई आरोपी पक्राउ


सप्तरी, असोज २

सप्तरी डाक्नेश्वरी–७ की १७ वर्षीया किशोरी संगीता मण्डललाई बलात्कार गर्ने दुई जना पक्राउ परेका छन् । पञ्चको आडमा गाउँमै मिलापत्र गर्न दबाब दिईरहेका बेला किशोरीले आत्महत्या गरेपछि घटना बाहिरिएको थियो ।

प्रहरीले बिहिवार राति रञ्जित भनिने १८ वर्षीय सरोजकुमार मण्डल र बब्लु भनिने १९ वर्षीय सुमनकुमार मण्डललाई पक्राउ गरेको जानकारी दिएको छ । उनीहरू नै बलात्कारका मुख्य आरोपी हुन् । सो घटनामा संलग्न भएका अन्य दुई जना अझै फरार रहेको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । दुवै जनालाई सप्तरीको बलान–बिहुल गाउँपालिका–४ बाट पक्राउ गरिएको हो ।

यस्तो थियो घटना

सोमबार विहान डाकनेश्वरी नगरपालिका–७ ललितपुरकी १७ वर्षीया संगिता मण्डलको स्थानीय चार युवाले सामुहिक बलात्कार गरेका थिए । सोमबार बिहान धानखेतमा लगाएको पानी हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार भएको पीडितकी आमाले बताएकी छिन् । उनका अनुसार आरोपित चार जनाविरुद्ध उजुरी दिन प्रहरी कार्यालय जान खोज्दा पञ्चको भेलाले रोकेका थिए । त्यसपछि छोरी निकै तनावमा परेको उनले बताइन् ।

पिडित संगिताले आमालाई बताएअनुसार सोही ठाउँका ३० वर्षीय धर्म मण्डल, ३५ वर्षीय विष्णु मण्डल, रञ्जित मण्डल (१८) र बब्लु मण्डल (१९) सहभागी थिए । घटना बिहानको करिव ९ बजेतिर भएको उनकी आमाले बताइन् । किशोरी हिलो लागेको रगतपच्छे अवस्थामा रुँदै घर आएपछि घटनाका बारेमा परिवारले थाहा पाएको थियो । उनको घरमा आमा र उनका दाइमात्र छन् । बाबु बितिसकेका छन् भने अर्का दाजु वैदेशिक रोजगारीमा छन् । उनीहरू अति विपन्न परिवारका भएकाले गाउँमै बटियामा खेत लिएका थिए । सो दिन उनि धानखेतमा पानी धेरै भए आली काटेर बगाउन गएकी थिइन् ।

हातका चुरा फुटेका र कपाल पूरै फुकेको अवस्थामा घर आएकी थिइन् । धेरै बेरसम्म एकनास रोइरहिन् र चार जनाबाट आफू बलात्कृत भएको सुनाउदै गर्दा उनि बेहोस भएको पीडितकी आमाले रुदै बताइन् । ‘चार जनाले पछाडिबाट समातेर खेतमै लडाए । वरपर अरू कोही थिएनन् । लुगा फुकाल्न थालेपछि जोरजोरले चिच्याउन खोजे पनि कसैले सुनेन’, पिडितले बताएको कुरा सुनाउदै उनकी आमाले भनिन्, ‘मुख बन्द गरिएको थियो । आवाज नै बाहिर गएन । बलात्कारीहरू जबरजस्ती गरेर फर्किए । उनि घटनास्थलमै एकछिन बेहोस भइन् र जसोतसो उठेर घरसम्म आइन् ।’

घटनापछि उनकी आमाले गाउँबाटै सहयोग पाउने अपेक्षाले समुदायका मुख्य व्यक्तिलाई बोलाइन् । जसलाई तराईका जिल्लाहरुमा ‘पञ्च’ भनेर बोलाउने गरिन्छ । भेला भएका आठजना पञ्चले आरोपितहरूबाट क्षतिपूर्ति भराई दिनुपर्ने र पीडितले कतै उजुरी गर्न नपाउने ‘फैसला’ सोमबार दिउसो २ बजेतिर सुनाईदिए । पञ्चहरुकै अगाडी आमाछोरी दुवैले त्यसको विरोध गरेपनि उनको कुरा कसैले सुनेनन् । पञ्चले चारै जना आरोपितलाई जनही २५÷२५ हजार रुपैयाँ तिनुपर्ने फैसला गरेका थिए ।

पञ्चले एक जनाको इज्जत ठूलो कि सिंगो गाउँको भन्दै पिडितलाई धम्क्याएका थिए । प्रहरीमा उजुरी गरे साक्षी प्रमाण जुटाउन नसक्ने भएकाले चुपचाप रहन उनीहरूले चेतावनी दिएको पिडितका छिमेकी बताउँछन् । बलात्कारको उजुरी गरे किशोरीकै बदनाम हुने, त्यसले बिहे पनि नहुने, आरोपितबाट पाउने क्षतिपूर्ति पनि छुट्ने भन्दै घटना बिर्सिन गाउँका ‘जान्ने–बुझ्ने’ले भनेपछि किशोरी तनावमा परेकी थिइन् ।

पिडित किशोरी र आमाले मंगलबार प्रहरी समक्ष उजुरी दिने निष्कर्ष समेत निकालेका थिए । सोमबार दिनभर निक्कै विक्षिप्त रहेकी ति किशोरीले सोही राति सलको पासो लगाएर आत्महत्या गरिन् । किशोरीले आत्महत्या गरेपछि आरोपित चारै जना फरार भएका थिए । प्रहरीले पञ्चहरुमध्ये तीन जनालाई पक्राउ गरेको छ । पञ्चायतीमध्ये जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई इलाका प्रहरी कार्यालय कल्याणपुरले पक्राउ गरेको छ ।