जनता टाइम्स

३ आश्विन २०७७, शनिबार ०९:२३

संविधानको सफल कार्यान्वयन गरी राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन माधव नेपालको आह्वान


काठमाडौं, असोज ३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले संविधानको सफल कार्यान्वयन गरी राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन र नेपाललाई समृद्धिको दिशातर्फ उन्मुख गराउन आ–आफ्नो ठाउँबाट योगदान गर्न सबै राजनीतिक दल तथा आम नेपालीमा आह्वान गर्नुभएको छ ।

संबिधान दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका बरिष्ठ नेता नेपालले नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र मात्र संस्थागत गरेको छैन, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, कानूनी राज्य जस्ता लोकतन्त्रका मुल्य मान्यताको जगमा सुशासन र समृद्धि हासिल गर्नका लागि मार्ग प्रशस्त गरेको बताउनु भएको छ ।

शुभकामनाको पूर्णपाठ

सार्वभौम संविधानसभावाट जारी भएको नेपालको संविधानले आजबाट पाँच बर्ष पुरा गर्दैछ । जनप्रतिनिधिहरूबाट तर्जुमा भएको संविधानबाट शासित हुने जनताको सात दशक लामो चाहना यहि संविधान मार्फत पूरा भएको हो । संविधान दिवस तथा राष्ट्रिय दिवसको यस शुभ अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता एवम् आपसी सद्भाीव कायम हुन सकोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु ।

यस अवसरमा संविधान हासिल गर्न आफ्नो जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु साथै ऐतिहासिक जनआन्दोलन सहित विभिन्न क्रान्ति र संघर्षमा सहभागी सबैप्रति आभार प्रकट गर्दछु । नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र मात्र संस्थागत गरेको छैन, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, कानूनी राज्य जस्ता लोकतन्त्रका मुल्य मान्यताको जगमा सुशासन र समृद्धि हासिल गर्नका लागि मार्ग प्रशस्त पनि गरेको छ ।

केन्द्रीकृत शासन व्यवस्थाको स्थानमा संघीय शासन प्रणालीको व्यवस्था गर्नु यस संविधानको महत्वपूर्ण उपलव्धि हो । संविधान कार्यान्वयन तथा संघीयतालाई संस्थागत एवं सुदृढ गर्ने दिशामा पनि पछिल्लो पाँच बर्षमा महत्वपुर्ण उपलब्धी हासिल भएको छ । ठूलो बलिदानी र संघर्षबाट प्राप्त यो संविधानको सफल कार्यान्वयन गरी राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन र नेपाललाई समृद्धिको दिशातर्फ उन्मुख गराउन आ–आफ्नो ठाउँबाट योगदान गर्न सबै राजनीतिक दल तथा आम नेपालीमा म हार्दिक आह्वान गर्दछु । यस दिनले हामीलाई शान्त, समुन्नत र समृद्ध नेपाल निर्माणमा थप प्रेरणा दिने मेरो विश्वास छ । अन्त्यमा, विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणबाट बच्न सजग र सतर्क रहन हार्दिक अनुरोध समेत गर्दछु ।