जनता टाइम्स

४ आश्विन २०७७, आईतवार १२:२७

एकसाता भित्र रानीपोखरीको पुनर्निर्माण सकिने, मनमोहक देखियो


काठमाडौं, असोज ४

काठमाडौंस्थित रानीपोखरीको पुनर्निर्माण एकसाता भित्र सकिने भएको छ । विगत लामो समयदेखी सरकारले बनाउन नसकेका यो रानीपोखरी पुनर्निर्माण हुनै पाँच वर्ष लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष पहलमा निर्माण थालिएको रानीपोखरी अब पुरानै अवस्थामा फर्किएको छ ।

शनिवार यहाको पोखरीमा पानी भरिएको छ । रानीपोखरीमा विगतमा जस्तै सुन्दरीजलको स्वच्छ २ करोड लिटर पानी हालिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो । विगतमा कहाको पानी ल्याएर हाल्ने भन्ने अन्यौल भएपनि अन्तत सुन्दरीजलको पानी ल्याएर हालिएको हो ।

‘प्राचीन समयमा शिवपुरीबाट राजकुलोमार्फत पानी ल्याएर हालिन्थ्यो भन्ने इतिहास छ। अहिले त्यसो गर्न सम्भव हुँदैन। मेलम्चीको खानेपानी पाइप लाइनबाट सुन्दरीजलकै पानी भर्ने काम भइरहेको छ। पाँच वर्षपछि रानीपोखरीमा पानी भरिएको हो,’ कार्यकारी अधिकृत ज्ञवालीले भन्नुभयो ।

रानीपोखरीको लम्बाइ १८० मिटर र चौडाइ १४० मिटर छ । जसको ९ फिट गहिराइमा पानी भरिएको हो । कालो माटो लेपन गरेर भरिएको पोखरीमा अहिले पानी अडिन्छ कि अडिदैन भनेर परीक्षण गर्ने काम भईरहेको छ । वि.सं. २०७२ को भूकम्पले क्षति पुर्याएको रानीपोखरी अब एक सातामा पुनर्निर्माण गरिसक्ने ज्ञवालीले बताउनु भयो ।

रानीपोखरी पुर्ननिर्माण अन्तिम चरणमा पुगेको छ । रानीपोखरीलाई थप आकर्षक बनाउने, गार्डेन बनाउने काम भइरहेका छन् । मन्दिर रङरोगन गरिरहेको मन्दिरमा सुनको गुजुर राख्न बाँकी छ । रानीपोखरीलाई पूर्ण रूप दिने तयारी भइरहको बताउदै उहाले एक सातामा बनिसक्ने भएपनि सर्वसाधारणका लागि भने भाइटिका पछाडीमात्रै खुल्ने जानकारी दिनुभयो ।

बालगोपालेश्वर मन्दिर प्रताप मल्लका पालामा बनेको शैलीमा बनाइएको छ। रानीपोखरीको स्वरूप, प्रविधि र संरचना पनि प्राचीनकालकै रहेको उहाले बताउनु भयो । (तस्बिर : गोरखापत्र)