काठमाडौं, असोज ४
सरकारले कात्तिक ८ गतेबाट क्लिन फिड लागु गर्नेगरि आवश्यक प्रक्रिया अघि बढाएको छ । संसदबाट क्लिन फिड ऐन पारित भएपनि सरकारले समयमै तयारी अघि नबढाएको भनी सरोकारवालाले असन्तुष्टि जनाएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सक्रियता देखाएको हो । सन्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले क्लिन फिडबारे चासो व्यक्त गरेपछि मन्त्रालयले सरोकारवालाहरुसँग छलफल गरेको हो ।
मन्त्रालयमा भएको छलफलमा क्लिन फिड लागु गर्ने बारेमा प्राविधिक र अन्य तयारीका विषयमा दुवै पक्ष सहमत भएको सन्चार सचिव हरि बस्यालले बताउनुभयो । सचिव बस्यालले निर्धारित मितिमा क्लिन फिड पूर्ण रुपमा लागु गर्न सरकार तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘मन्त्रालयमा भएको छलफल सकारात्मक छ । सरकार क्लिन फिड सम्बन्धी ऐन कार्यन्वयन गर्न र विज्ञापन बोर्ड गठन गर्न तयार छ । सरोकारवालाहरुले पनि क्लिन फिड लगाउन सकिन्छ भन्नुभएको छ ।’
सचिव बस्यालका अनुसार सरकारले ऐन कार्यन्वयनका लागि नियमावली समेत बनाइरहेको छ । यसबीचमा विज्ञापन बोर्ड पनि गठन हुने तर बोर्ड गठन नभए पनि क्लिन फिड लागु गर्न समस्या नरहेको बताउनुभयो । मन्त्रालयमा भएको छलफलमा विदेशी च्यानल वितरक तथा सेवादायकहरुले कात्तिक ८ देखि क्लिन फिड लागु हुनुपर्नेमा सरकारलेनै समयमा तयारी नगरेको विषयमा ध्यानाकर्षण गराएको मेगा म्याक्स टिभी प्रालिका उपाध्यक्ष ध्रुव शर्माले बताउनुभयो ।
क्लिनफिड पूर्ण रुपमा लागु गराउन विदेशी तथा नेपाली अवैध ओडिटी एप्सहरु बन्द गराइनुपर्ने माग समेत छलफलमा सरोकारवालाले राखेको शर्माले जानकारी दिनुभयो । यतिबेलासम्म क्लिन फिड लागु गर्नका लागि आवश्यक उपकरणहरु ल्याइसक्नुपर्नेमा सरकारले अनुमति नदिदा ढिला भएको डिजिटल सिस्टम अफ नेपालका निर्देशक शिव निरौलाले बताउनुभयो । डिभाइस उपकरण जति चाँडो ल्याउन सकियो त्यतिनै क्लिन फिड निर्धारित समयमा लागु गन सकिने उहाँले जानकारी दिनुभयो ।
क्लिन फिड लगाइने डिभाइस चाँडो आएको खण्डमा सरकारले पूवृ तयारी तथा अनुगमन गर्न समय पाउने र व्यवसायीले पनि समयमै काम सम्पन्न गर्न सक्ने निरौलाले सुनाउनुभयो । सचिव बस्यालले भन्नुभयो,‘चार पाँच दिनभित्रै च्यानल वितरकहरुले क्लिन फिड लागु गर्न लिखित प्रतिबद्धता जनाउने सहमति भएको र उपकरण आयातका लागि मन्त्रालयले विभागमार्फत अनुमति दिन्छौं।’ उपकरणका कारण क्लिन फिड लागु गर्न नसक्ने अवस्था आउन नदिइने सचिव बस्यालले बताउनुभयो । क्लिन फिड सम्बन्धी विज्ञापन ऐन संसदको गत हिउँदे अधिवेशनबाट पारित भएको थियो । सो ऐन कार्यन्वयन कात्तिक ८ गतेबाट हुनुपर्नेछ ।
ऐन पारित हुने बेला विदेशी च्यानल वितरकहरुले विरोध गरेपनि अहिले उनीहरुनै ऐन कार्यन्वयनका लागि अग्रसर भएका छन् । क्लिन फिडमा जानका लागि सहमति जनाउँँदै विदेशी सशुल्क च्यानलहरुले पनि सूचना तथा प्रसारण विभागमा पत्र पठाइसकेका छन् । साउनदेखि नविकरण गर्दा सरकारले तोकेको मितिमा क्लिन फिड लागु गर्ने प्रतिवद्धता सहित उनीहरुले डाउनलिंक अनुमतिपत्र समेत लिइसकेका छन् । क्लिन फिड लागु भएपछि विदेशी च्यानलको प्रसारणमा विदेशी विज्ञापन हुने छैन । विदेशी कलाकारको आवाजका विज्ञापन समेत अब प्रसारण गर्न पाइदैन ।
प्रतिक्रिया दिनुहोस्