काठमाडौं, असोज ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठनको बिषयमा तीन ओटा बिकल्प राख्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले तीन बिकल्प राखेर सदस्यहरुको धारणा माग्नुभएको हो ।
आज बसेको बैठकमा पहिलो एजेण्डाको रुपमा मन्त्रिपरिषद् पुनर्गठनको बिषय राखिएको छ ।
बैठकले मन्त्रिपरिषद् पुनर्गठन पहिलो एजेण्डा राखेको छ भने दोस्रो एजेण्डाको रुपमा संवैधानिक तथा अन्य राजनीतिक नियुक्ति, तेस्रोमा सांगठनिक एकताका बाँकी काम र चौथोमा विविध राखेको छ । आजको बैठकमा पहिलो एजेण्डामा मात्रै छलफल भएको हो । सो क्रममा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफ्नो धारणा राख्नुभएको थियो । प्रधानमन्त्रीले पुनर्गठनका विषयमा सुरुवाती तीनवटा विकल्पका कुरा गर्नुभएको सचिवालयका एक सदस्यले जनताटाइम्सलाई बताए ।
‘मन्त्रिपरिषद पुनर्गठन गरौं, यसका लागि यही भन्दा पनि विभिन्न विकल्पमा छलफल गरौं । पहिलो विकल्प सबैजनालाई हटाएर नयाँ व्यक्ति लैजाने कुरा हुनसक्छ । यो विकल्प कत्तिको उचित होला ? अर्को दुई वर्ष पूरा भएका व्यक्तिलाई फिर्ता गर्ने र नयाँ पठाउने विकल्प हुनसक्छ । तेस्रो विकल्प भनेको अहिलेको खाली ठाउँमा थपौँ, केहीलाई फिर्ता बोलाउने गरी पनि जान सकिन्छ,’ बैठकमा प्रधानमन्त्री ओलीको भनाई थियो ।
प्रधानमन्त्रीको धारणापछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले आफ्नो धारणा राख्नुभएको थियो । उहाँले पुनर्गठनमा बोल्ड निर्णय गर्नूपर्ने बताउनु भएको छ । ‘मैले सबै हटाउने त भन्दिन । तर, बोल्ड निर्णय आवश्यक छ । सबैजनालाई फिर्ता गरेर फेरि राम्रो काम गर्नेलाई दोहोर्याउन पनि सकिन्छ । काम गर्ने र युवा पुस्तालाई अगाडि सार्नुपर्छ,’ बैठकमा प्रचण्डको भनाई उधृत गर्दै ती सदस्यले जनताटाइम्सलाई भने, ‘हामीले वरिष्ठ र योग्यहरुलाई स्थान दिनेगरी पुनर्गठनमा केन्द्रित हुनुपर्छ । जनतालाई काम गरेको अनुभूति दिनेगरी पुनर्गठन गरौँ ।’
बैठकमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेलले पनि आफ्ना धारणा राख्नुभएको छ । यस्तै सचिवालय सदस्यद्वय इश्वर पोखरेल र रामबहादुर थापाले पनि आफ्नो धारणा राख्नुभएको छ । उहाँहरुले प्रधानमन्त्रीलाई यस बिषयको जिम्मा दिनुपर्ने सुझाव राख्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्