काठमाडौं, असोज ५
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक मंगलबारसम्मका लागि सरेको छ । सोमबार दिउँसो १ बजे बोलाइएको बैठक नेताहरुको व्यवस्थताका कारण मंगलबारसम्म सरेको हो ।
मंगलबार अपरान्ह साढे १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्ने नेताहरुले जानकारी दिनुभएको छ । आइतबारकै बैठकमा सोमबार बालुवाटारमा बैठक बस्ने तय भएको पनि सचिवालयका एक सदस्यले जानकारी दिनुभयो । ‘अर्को बैठक बालुवाटारमा बस्ने सहमति गरेर हिजोको बैठकबाट निस्किएका हौं’, ति नेताले भन्नुभयो, ‘शिर्ष नेताहरुकै कार्यव्यस्थताका कारण आजको बैठक भोली अपरान्ह साढे १२ बजेसम्मका लागि सारिएको हो ।’
आइतबार तत्कालीन माओवादी मुख्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकले मुख्य चारवटा बैठकको कार्यसूची तय गरेको थियो । पहिलो नम्बरमा रहेको मन्त्रि परिषदको पुनर्गठनको कार्यसूचीमाथि आइतबार छलफल सकिएको छ । मन्त्रि परिषद पुनर्गठनमा सचिवालय सदस्यहरुको एकमत देखिए पनि त्यसको खाका बन्न बाँकी रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराउनुभएको थियो ।
बाँकी कार्यसूचीमा पार्टी एकताका बाँकी काम टुङ्ग्याउने, संवैधानिक निकायमा बाँकी नियुक्तीका विषयमा छलफल गर्ने, एकता महाधिवेशन तयारीको काम लगायत विविध विषयमा छलफल गर्न बाँकी रहेको छ ।












प्रतिक्रिया दिनुहोस्