जनता टाइम्स

५ आश्विन २०७७, सोमबार १६:२३

दुई जिल्लाबाट एकैदिन समातीय ७३ जना फरार अभियुक्त


काठमाडौं, असोज ५ । नेपाल प्रहरीले स्यांजा र तनहुँमा गरी एकै दिन ७३ जना फरार अभियुक्त पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा मातहत प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरीले कर्तव्यज्यान, हाडनाता करणी, लागूऔषध, सवारी ज्यान, चेक अनादर, अंशवण्डा, सम्बन्ध विच्छेद, कुटपिट लुटपाट लगायतका बिभिन्न मुद्दामा फरार रहेका ४८ जना प्रतिवादीहरूलाई विभिन्न स्थानहरूबाट आइतबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाद्धारा संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत विगत १ महिनामा बिभिन्न मुद्दाका ८३ जना फरार प्रतिवादीहरू पक्राउ गरी जिल्ला अदालत स्याङ्जामा पेश गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरीले विभिन्न मुद्दामा फरार रहेका २५ जना प्रतिवादीहरूलाई विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको छ । जसमध्ये बहुविवाह मुद्दामा ११ महिना १९ दिन कैद तथा १० हजार रुपैयाँ जरिवान भुक्तान गर्न बाँकी रही बिगत ४ वर्षदेखि फरार रहेका भानु नगरपालिका १३ सम्जुर बस्ने ३० वर्षीय सुरेन्द्र कुमार श्रेष्ठ, लागूऔषध मुद्दामा ४ महिना १९ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका बन्दीपुर गाउँपालिका १ नहाला बस्ने किना परियार रहेका छन ।

यसैगरी लागूऔषध मुद्दामा ११ महिना १९ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका बन्दीपुर गाउँपालिका१ भन्सार बस्ने बर्लमिन भन्ने बहरुल अमिन मिया, त्यस्तै लागूऔषध मुद्दामा फरार अन्य २ जना रहेका छन । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार जुवा मुद्दामा फरार ५ जना, घरेलु हिंसा मुद्दामा फरार १ जना, दुनियाबादी फौजदारी मुद्दामा फरार ३ जना, नाता कायम मुद्दामा फरार १ जना, अंशबण्डा जग्गा अंश हक कायम मुद्दामा फरार १ जना, सम्बन्ध बिच्छेद मुद्दामा फरार २ जना, कुटपिट मुद्दामा फरार २ जना, जालसाजी मुद्दामा फरार १ जना, डाँका मुद्दामा फरार ४ जना गरी २५ जना फरार प्रतिवादीहरुलाई पनि प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका सबै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत तनहुँमा उपस्थित गराइएको उक्त जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।