जनता टाइम्स

६ आश्विन २०७७, मंगलवार १३:५७

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु : मन्त्रिपरिषद पुनर्गठनमा ठोश निर्णयको कसरत


काठमाडौं, असोज ६ । मन्त्रिपरिषद पुनर्गठनलगायत चार बुँदे एजेण्डामा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक शुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि शुरू भएको बैठकमा मन्त्रिपरिषद पुनर्गठन प्रमुख एजेण्डाको रुपमा राखिएको छ ।

आइतवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकले मन्त्रिपरिषद पुनर्गठन गर्ने नीतिगत निर्णय गरेको थियो । आइतवारको बैठकमा पुनर्गठनका मापदण्डबारे सामान्य छलफल भएपनि निर्णय भने भएको थिएन । बैठकमा सचिवालयका नेताहरुले आफ्नो एकसरो सुझाव राख्नुभएको छ । सुझावका क्रममा बिभिन्न बिकल्प आएका छन । जसअनुसार पहिलो चरणमा मन्त्री बनेका सबैलाई फेर्ने, दुई वर्ष पूरा भएकालाई फेर्ने, पुराना केहीलाई हटाएर नयाँ नियुक्ति गर्नेलगायतका बिकल्प रहेका छन । आजको बैठकमा सो बारे ठोश निर्णयको अपेक्षा गरिएको छ ।

यद्यपी सचिवालय सदस्यहरुको सुझाव लिएर प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसँग परामर्श गरी मन्त्रिपरिषद पुनर्गठन गर्ने संभावना पनि रहेको छ । बैठकमा लागि केन्द्रीय सदस्यहरूलाई नियमित आर्थिक सहयोग गर्ने, कोरोना कालमा संघीय सांसदको भत्ता के गर्ने लगायत एजेण्डा तय गरिएको छ । आजको बैठकमा यी बिषयमा पनि छलफल हुनेछ ।