जनता टाइम्स

६ आश्विन २०७७, मंगलवार १५:१६

नियमित रूपमा पारिश्रमिक नदिएको, जागिरबाट निकालिदिएको भन्दै नागरिक दैनिकमा पाँच दिने सत्याग्रह


काठमाडौं, असोज ६

नागरिक दैनिकमा कार्यरत पत्रकार, कर्मचारी र मजदुरले पाँच दिने सत्याग्रह सुरू गरेका छन् । नेपाल रिपब्लिक मिडियाले सञ्चालन गरेको नागरिकले नियमित रूपमा पारिश्रमिक नदिएको तथा पूर्वजानकारीविना जागिरबाट अवकाश दिएको भन्दै सत्याग्रह सुरू भएको हो । नागरिकको कार्यालय अगाडि सोही दैनिकको तेस्रो पृष्ठ हेर्दै आएका पत्रकार सुविद गुरागाईं सत्याग्रह बस्नुभएको छ ।

उहाँलाई अन्य सहकर्मीले पनि साथ दिनुभएको छ । दैनिकमा कार्यरत अर्का एक पत्रकारका अनुसार नियमित तलब नदिइएको र बल्लतल्ल जेठ र असारको पाइएको छ । अहिले दुई महिनाको तलब अझै नपाएको उहाँले बताउनुभयो । विभिन्न दबाबमूलक कार्यक्रम गरे पनि प्रकाशन गृहले नियमित तलब नदिएको उहाँले सुनाउनुभयो ।

उहाँले भन्नुभयो,‘कोरोनाका बेला जोखिम मोलेर रिपोर्टिङ, सम्पादन लगायतका कामहरू गरिएको छ, तैपनि नियमित तलब पाइएन । लकडाउनका बेला निःशुल्क पत्रिका बाँडेको प्रकाशन गृहले दिनरात नभनी काम गरिरहेका पत्रकार, कर्मचारी र मजदुरलाई तलब दिएनन् ।’ यता नेपाल पत्रकार महासंघले पनि यस सत्याग्रहमा ऐक्यवद्धता जनाएको छ ।

कोरोनाका बाहनामा प्रकाशन गृहले पत्रकार, कर्मचारी र मजदुरलाई पूर्वजानकारीविनै निष्कासन गरिएकोले पत्रकार महासंघले समस्या समाधान गर्न पटक–पटक आग्रह गरिसकेको बताएको छ। महासंघका महासचिव रमेश बिष्टका अनुसार विभिन्न प्रकाशन गृह गरी १२ वटा प्रकाशन गृहमा पारिश्रमिक नदिने र कर्मचारी निकालिएका घटनाबारे महासंघको जानकारीमा छ।

यसबारे महासंघले प्रेस रजिष्ट्रार कार्यालयमा जानकारी गराइएको र अब श्रम अदालतमा मुद्दा हाल्ने तयारी भएको उहाँले बताउनुभयो । यता नागरिकको व्यवस्थापनले पत्रकार, मजदुर र कर्मचारीलाई चैत, वैशाख, जेठ महिना वर्क फ्रम होममा राखिएको तर असारमा काममा बोलाउँदा पनि नआएपछि समस्या उत्पन्न भएको भनेको छ । प्रकाशन गृहका प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली भने आफूलाई सत्याग्रहबारे जानकारी नभएको बताउनुभएको छ ।