जनता टाइम्स

६ आश्विन २०७७, मंगलवार १५:५३

संवैधानिक नियुक्ति प्रक्रिया तत्काल अगाडि बढाउन सरकारलाई नेकपाको सुझाव


काठमाडौं, असोज ६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संवैधानिक निकायमा पदपूर्तिको काम अगाडि बढाउन सरकारलाई सुझाव दिएको छ । लामो समयदेखी रिक्त रहेका आयोगमा पदपुर्तिको प्रक्रिया अगाडी बढाउन सचिवालयले सुझाव दिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले संवैधानिक निकायमा नियुक्ति प्रक्रिया अगाडि बढाउन सरकारलाई सुझाव दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । स्थायी कमिटीको निर्णय अनुसार सचिवालयले सुझाव दिएको हो । ‘विभिन्न संवैधानिक निकायको पदपूर्तिको बारेमा संवैधानिक परिषद्को बैठक छिटो बसेर आवश्यक निर्णय लिन पहल गर्नुहुन अनुरोध गरेको छ,’ प्रवक्ता श्रेष्ठले भन्नुभयो ।

नेकपाले संवैधानिक र कानुनी मापदण्डअनुसार नियुक्ति गर्न सुझाव दिएको उहाले बताउनु भयो । मन्त्रिपरिषद् पुनर्गठनको विषयलाई लिएर सोमवार पनि अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो । तर, आजको बैठकमा यसविषयमा कुनै छलफल भएको उहाले बताउनु भयो ।

सचिवालय बैठकले नेकपाको एकता प्रक्रियालाई पुरा गर्ने गरी १० दिनभित्र खाका बनाउन अध्यक्षद्वय र महासचिवलाई जिम्मेवारी दिएको छ । अध्यक्षद्वयले खाका बनाएर सचिवालय बैठक पेश गर्ने र थप छलफल भएपछि पार्टी एकतालाई पुरा गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । अब फेरी बस्ने सचिवालय बैठकमा विविध विषयमा छलफल हुने उहाले बताउनु भयो ।