जनता टाइम्स

६ आश्विन २०७७, मंगलवार १९:३०

प्रेस काउन्सिलले नै गर्यो पत्रकारमाथि यसरी बिभेद


काठमाडौं, असोज ६ । मिडियाको नियामक निकाय प्रेस काउन्सिल नेपालले नै पत्रकारहरुलाई दुई दर्जामा बिभाजन गरेर पुरस्कार बितरण गरेको छ । आफ्नो स्थापनाको ५१औं स्थापना दिवसको अवसरमा घोषणा गरिएको पुरस्कार बितरण शीतलनिवाश र सञ्चार ग्राममा आयोजना गरी यस्तो बिभेद गरेको हो ।

काउन्सिलले यस बर्ष गोपालदाश पत्रकारिता पुरस्कार प्राप्त बरिष्ठ पत्रकार शम्भु श्रेष्ठ र आचार संहिताका पुरस्कृत सेतोपाटीका सम्पादक अमित ढकाललाई राष्ट्रपति भवन शीतलनिवाशमा बिशेष कार्यक्रम आयोजना गरी राष्ट्रपति बिद्यादेवी भण्डारीबाट पुरस्कृत गराइयो । सोही समारोहमा तानसेन नगरपालिकाले स्थापना गरेको पुष्पलाल राष्ट्रिय पत्रकारिता पुरस्कार हिरण्यलाल श्रेष्ठलाई प्रदान गरियो । यी काउन्सिलले पुरस्कृत गरेका अन्य पत्रकार भने शीतलनिवासमा बोलाइएन । अन्य पत्रकारका लागि सभामुख अग्नि सापकोटालाई निम्त्याएर सञ्चारग्राममै पुरस्कार बाँडियो ।

काउन्सिलले यसवर्ष प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको थियो । प्रेस काउन्सिलका पूर्वअध्यक्ष स्व. गोपालदास श्रेष्ठको स्मृतिमा स्थापना गरिएको कोषबाट हरेक वर्ष पुरस्कार वितरण गरिँदै आएको हो । १ लाख ५१ हजार राशिको पुरस्कार गतवर्ष हाँक साप्ताहिकका सम्पादक गोविन्दबहादुर थापालाई प्रदान गरिएको थियो । यसवर्षको १ लाख १० हजार राशिको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार हुम्लाका अर्जुन बोहोरालाई प्रदान गरिएको छ भने ५० हजार राशिको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार सेतोपाटी डटकम (काठमाडौँ) लाई प्रदान गरिएको छ । यस्तै २० हजार राशिको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार गोविन्द क्षेत्री (झापा), राजन कार्की (काठमाडौँ), धर्मेन्द्र कर्ण (धनुषा), ऋषि धमला (धादिङ), उमेश श्रेष्ठ (काठमाडौँ), दीपेन्द्र श्रेष्ठ (कास्की) र नितु पण्डित (काठमाडौँ)लाई प्रदान गरिएको छ ।

शीतलनिवाशमा राष्ट्रपति बिद्यादेवी भण्डारीबाट पुरस्कार ग्रहण गर्दै बरिष्ठ पत्रकार शम्भु श्रेष्ठ ।

यसैगरी काउन्सिलले १५ हजार राशिको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार यसवर्ष सटेन्द्र जबेगु (इलाम), सुरेशचन्द्र अधिकारी (चितवन), माधव पौडेल (काठमाडौँ), गणेश चौधरी (कैलाली), गिरिजा अधिकारी (मकवानपुर), राजु वि.क. (सिरहा), कमला श्रेष्ठ (काठमाडौँ), राजन सिंह (धनुषा), देवीकुमारी गुरुङ (रोल्पा), रेणु पराजुली (उदयपुर), दीपेन्द्र वली (सुर्खेत), शेरबहादुर थापा (सुर्खेत), राधिका कँडेल (फोटो पत्रकार, कास्की) र शान्ता कमली (लमजुङ)लाई प्रदान गरेको छ ।

यस्तै प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार नव प्रज्ञापन साहित्यिक त्रैमासिक पत्रिका र प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार वाम्बुले राई भाषाका लागि ओखलढुङ्गा पत्रकार गणेश राईलाई प्रदान गरिएको छ । प्रेस काउन्सिल नेपालको इतिहासमै पुरस्कार बितरणमा बिभेद भएको यो पहिलो पटक हो । यसरी बिभेद भएको यो पहिलो पटक हो ।

‘भेदभाव होइन, परिस्थितिको बाध्यताले गर्दा गोपालदास पत्रकारिता पुरस्कार र आचारसंहिता पुरस्कार मात्रै दिनुपरेको हो, अन्यथा होइन, बर्गीकरण गरेको भन्ने जस्तो देखिए पनि त्यस्तो बिल्कुलै होइन, कोही पनि भ्रममा पर्नुहुन्न,’ प्रेस काउन्सिलका सदस्य गोपाल बुढाथोकीले जनताटाइम्ससँग भन्नुभयो । उहाँले राष्ट्रपतिले पुरस्कृत सवैलाई बधाई र शुभकामना दिनुभएको जानकारी पनि दिनुभयो ।

सञ्चारग्राममा सभामुख अग्निप्रसाद सापकोटाबाट पुरस्कार ग्रहण गर्दै पत्रकार माधव पौडेल ।

यता काउन्सिलले बितरण गरेको पुरस्कारमा पहिलो पटक सञ्चार मन्त्रालयको नेतृत्व र सरकार पुरै बाइपास भएको छ । शीतलनिवासदेखि देखि सञ्चारग्रामसम्म सरकारलाई बाइपास भएको देखिएको हो । यसरी काउन्सिलले ५१औं स्थापना दिवसमा दुई रेकर्ड राखेको छ । दुई तहमा पुरस्कार बतरणदेखि सरकारलाई पुरै बाइपास गर्नेसम्मको रेकर्ड कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठले जाने बेलामा राख्नुभएको हो । लेखनमा तिख्खर र बाम पत्रकारिताका हस्ती श्रेष्ठको कार्यकाल आगामी असोज १३ गते सकिदैछ । पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्य पत्रकारमाथि गरिएको बिभेद र बर्गिकरणको हिस्सेदार बन्नुभएको छ ।