काठमाडौं, असोज ७ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी चालकहरूले घुस दिएर प्रलोभनमा पार्न खोज्दा अस्वीकार गर्ने १७ जना ट्राफिक प्रहरीलाई सम्मान गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीम ढकालले एक कार्यक्रम गरी घुस अस्वीकार गर्ने ट्राफिक प्रहरीलाई टीका, दोसल्ला र प्रशंसा पत्र दिएर सम्मान गर्नुभएको हो ।
नेपाल प्रहरीको आर्थिक शून्य सहनशीलतालाई अक्षरश पालना गरी सवारी नियम उल्लङ्घन गर्ने चालक सहचालकले आर्थिक प्रलोभनमा पार्न खोज्दा प्रलोभनमा नपर्नेहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको एसएसपी ढकालले जानकारी दिनुभयो । उनीहरुले नियम तोड्ने चालक सहचालकलाई कारवाहीको दायरामा ल्याएर जिम्मेवारी पूरा गरेको महाशाखाका प्रमुख ढकालले बताउनु भयो ।
‘संगठनको छवि उच्च पारी दिइएको जिम्मेवारी इमान्दारीसाथ पूरा गर्ने ट्राफिक प्रहरीलाई प्रोत्साहन गरिएको हो,’ ढकालले भन्नुभयो, ‘सम्मान गरेपछि ट्राफिक प्रहरीको काममा पारदर्शिता र इमान्दारीता देखिन थालेको छ।’ यसअघि प्रलोभनमा नपर्ने ५० जना ट्राफिक प्रहरीलाई पुरस्कृत गरिएको महाशाखाले जनाएको छ। यसै वर्ष सेवाग्राहीसँग घुस लिनेसहित ७७ जना ट्राफिक प्रहरीलाई विभागीय कारवाही गरिएको महाशाखाले जनाएको छ। जसमध्ये ४ जनालाई जागरिबाटै हटाइएको छ।












प्रतिक्रिया दिनुहोस्