जनता टाइम्स

७ आश्विन २०७७, बुधबार १३:१८

कीर्तिमानी आरोही शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि


काठमाडौं, असोज ७

कीर्तिमानी आरोही आङरिता शेर्पाको बुधबार बिहान राष्ट्रिय सम्मानका साथ राजधानी काठमाडौंमा अन्त्येष्टि गरिएको छ । टेकु दोभानमा बौद्ध परम्पराअनुसार उहाको अन्त्येष्टि गरिएको हो ।

‘हिमचितुवा’ले परिचित शेर्पाको पार्थिव शरीरमा पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभएको थियो । त्यस्तै सशस्त्र प्रहरीको एक टुकडीले शेर्पाप्रति सलामी अर्पण गरेको थियो ।

सगरमाथा शिखर आरोहणमा आफ्नो जीवनकालमै किंवदन्तीझैं बनेका आरोही आङरिता शेर्पाको सोमबार ७२ वर्षको उमेरमा काठमाडौंमा निधन भएको थियो  । बोतलको अक्सिजनबिना १० पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका शेर्पाको बिहान १० बजे कपनस्थित छोरी डोमाको घरमा निधन भएको थियो ।