जनता टाइम्स

७ आश्विन २०७७, बुधबार १५:४८

परिवार पहिरोले बगायो, कुखुराको खोरमा आश्रय लिँदै पहिरो पीडित


गलकोट, असोज ७

पहिराले घरमा क्षति पुर्याएपछि निसीखोला गाउँपालिका–५ कारीगाउँका एक परिवार कुखुराको खोरमा आश्रय लिएर बस्दै आएको छ । गत साउन ३१ गते राति माथिबाट खसेको पहिरोले घर पूर्ण रुपमा क्षति भएपछि निसीखोला गाउँपालिका–५ कारीगाउँका हिराबहादुर विकको परिवार अहिले कुखुराको खोरमा आश्रय लिएर बस्दै आएको हो । विकका १४ वर्षीय छोरा वीरेन्द्र र ६ वर्षीय नाति प्रवेशसमेतको उक्त पहिरोमा पुरिएर मृत्यु भएको थियो ।

बिककी ५२ वर्षीया श्रीमती डिलसरा घाइते हुनुभएको थियो । पहिरो आएको दिन आफू घरभन्दा माथि रहेको गोठमा बसेको कारण बाँच्न सफल भएको बताउँदै हिराबहादुर विकले घर र परिवारको सदस्य गुमाउँदा अहिले आफू अर्काको कुखुराको खोरमा बस्दै आएको दुखेसो गर्नुभयो ।

‘रातिको खाना खाएपछि म माथि गोठमा सुत्न गएको थिएँ, तल घरमा श्रीमतीसहित छोराछोरी र नाति बसेका थिए । राति ठूलो पहिरो आएर घरसहित परिवारका दुई जना सदस्यलाई समेत पुरेछ’, उहाँले भन्नुभयो, ‘अहिले हामी घर न घाटको भयौँ, घाइते श्रीमतीसहित परिवारका अन्य सदस्यलाई लिएर अर्काको कुखुराको खोरमा खोरमा आश्रय लिन बाध्य भएको छु ।’ आर्थिक अवस्था नाजुक रहेका ६० वर्षीय हिराबहादुर साना दुई छोरी र श्रीमतीसहित अहिले स्थानीयवासी धर्मराज पोखरेलको कुखुरा खोरमा आश्रय लिएर बसिरहेका छन् ।

‘पोखरेलले घर नबन्दासम्मका लागि कुखुराको खोरमा बस्नू भन्नुभएको छ’, उहाँले भन्नुभयो, ‘खुला आकाशमुनि बस्नुभन्दा यही खोरमा बस्न ठीक छ ।’ गरिबीका कारण हिराबहादुरको घर बनाउन सक्ने अवस्था छैन । गाउँघरमा मजदूरी गरेर ६ छोरोछोरीको लालनपालन गर्दै आएका विकको परिवार पहिराले घरनै बगाएपछि ठूलो संकटमा परेको छ ।

विकका तीन छोराछोरीमध्ये जेठी छोरीको विवाह भइसकेको छ भने जेठो छोरा पनि बिहे गरेर ससुराली तिरै बस्दै आएका छन् । कान्छो छोराको पहिरामा पुरिएर ज्यान गएको छ भने माहिलो छोरा रोजगारीका लागि घर बाहिर छन् । पहिरोले भएको अन्नपात र लत्ता कपडा सबै बगाएपछि अहिले उहाँलाई दैनिक गुजारा चलाउनसमेत समस्या भएको छ ।