काठमाडौं, असोज ८ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीपार्वत गुरुङले अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता कटौति नहुने बताउनु भएको छ ।
केही गाउँपालिकाहरुमा अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता कटौति भएको गुनासो आईरहेका बेला मन्त्री गुरुङले त्यसो हुन नदिने बताउनु भएको हो । उहाँले अपांगता भएकाव्यक्ति, ज्येष्ठ नागरिकलगायतका सामाजिक सुरक्षा भत्ता कहीँ कतै कटौति भएको भए त्यसलाई वितरण गर्न पुनः गृह, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरेर अघि बढने पनि स्पष्ट पार्नु भयो । ‘सामाजिक सुरक्षा भत्ता कटौतिलगायतका विषय अन्तर मन्त्रालयसँग सम्बन्धित हुन्छ, केही समस्या देखिए ती मन्त्रालयहरुसँग आवश्यक समन्वय गरेर अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक सुरक्षा भत्ता पुनः वितरण गर्ने व्यवस्था मिलाईनेछ,’ मन्त्री गुरुङले भन्नुभयो ।
राष्ट्रिय अपाङ्ग महासंघ–नेपालले आज आयोजना गरेको ‘अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि नियमावली–२०७७’ सम्बन्धि भर्चुअल बैठकमा बोल्दै मन्त्री गुरुङले कोरोना भाइरसका कारण समस्यामा परेका अपाङ्गता भएका व्यक्तिहरुको समस्या तत्काल सम्बोधन गर्न सरकार क्रियाशील रहेको बताउनु भयो । उहाँले खाद्यान्न, सहायक सामग्री कुनै समस्या भए सूचना दिन पनि अपाङगता भएका व्यक्ति तथा संघ, संस्थाहरुलाई आह्वान गर्नुभयो ।
मन्त्रालयले राष्ट्रिय अपाङ् महासंघ नेपालसँगको समन्वयमा अपाङ्गता भएका व्यक्तिहरुको समस्या समाधान गर्दै आएको पनि मन्त्री गुरुङले स्मरण गराउनु भयो । मन्त्री गुरुङले अपाङ्गता भएका व्यक्तिको हित प्रवद्र्धनका लागि आवश्यक ऐन, कानुन संशोधन गरेर अघि बढन सरकार प्रतिवद्ध रहेको बताउनु भयो । त्यसका लागि सरकारलाई आवश्यक सुझाव दिन सरोकारवाला निकायलाई मन्त्री गुरुङले आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव यामकुमारी खतिवडाले संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा अपाङ्गता भएका व्यक्तिहरुको हित प्रवद्र्धनको कामलाई प्रभावकारी बनाउने गरी मन्त्रालयले सो नियमावली ल्याएको जानकारी दिनुभयो । महासंघका अध्यक्ष मित्रलाल शर्माले अपाङ्गता मैंत्री ऐन, नियम र नियमावलीको प्रभावकारी कार्यान्वयनका लागि मन्त्री गुरुङको ध्यानाकर्षण गराउनु भएको थियो ।













प्रतिक्रिया दिनुहोस्