जनता टाइम्स

८ आश्विन २०७७, बिहीबार १४:३५

अनुगमन टोली देखेपछि घट्यो प्याजको भाउ, बढी मूल्यमा बिक्री नगर्न निर्देशन


काठमाडौं, असोज ८

महानगरपालिकाको बजार अनुगमन टोली मनोहराको तरकारी बजारमा पुगेपछि त्यहाँ रहेको सुनापति आलु प्याज सप्लायर्सले प्याजको मूल्य प्रतिकिलो १२० रुपैयाँ बताएका थिए । प्याजको खरिद मूल्य अनुगमन टोलीले मागेपछि नजिकैको अर्का प्याज पसलले एकाएक डराए ।

अनुगमन टोलीका एक प्रतिनिधिकाअनुसार सलेज आलु प्याज भण्डारले तत्कालै प्रतिकिलो ६० रुपैयाँमा प्याज बिक्री गर्न थालेका थिए । एक पसलमा भएको अनुगमनमा अर्को पसलेले आधी मूल्य घटाएपछि उपभेक्ताहरु समेत छक्क पर्दै खुसी भएका थिए । प्याजको मूल्य आधा भन्दा धेरै घटेपछि अनुगमन टोलीकै सामुन्नेमा प्याज रित्तियो । अनुगमनको क्रममा बजारको पनौती सैजु आलु प्याज भण्डारले १०५ रुपैयाँ किलोमा प्याज बिक्री गरेको पाइएको थियो ।

यस्तै युपी आलु प्याज भण्डारका सञ्चालकले खुद्रा मूल्य ११५ रुपैयाँ र बोरा किन्दा १०५ रुपैयाँ प्रतिकिलोमा प्याज बिक्री गरेको भेटिएको थियो । बढी मूल्यमा प्याज बिक्री गर्ने, खरिद तथा बिक्री मूल्य नराख्ने व्यापारीलाई अनुगमन टोलीले कागजात लिएर महानगरको कृषि विभागमा सम्पर्क गर्न पनि निर्देशन दिएको छ ।