जनता टाइम्स

८ आश्विन २०७७, बिहीबार १४:५१

यसरी भेटियो हराएको भनिएको ११ नम्बर सीमा स्तम्भ


काठमाडौं, असोज ८ । हराएको भनिएको नेपाल चीन सीमा क्षेत्रको ११ नम्बर सीमा स्तम्भ भेटिएको छ । हुम्लाको नाम्खा गाउँपालिका ६ लाम्चाको माथि ताकुलेकमा ११ नम्बर सीमा स्तम्भ भेटिएको हो ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरिञ्जीवी गिरीको नेतृत्वमा खटिएको सीमा निरीक्षण टोलीले बुधवार सो सीमा स्तम्भ भेटेको नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङ, लामाले जानकारी दिनुभयो । यो सीमा स्तम्भ २०१९ सालमा नेपाल चीन सिमांकन हुँदा स्थापना गरिएको थियो । सीमा सुरक्षाको जिम्मा पाएको शसस्त्र प्रहरीले स्तम्भ नभेटिएको सूचना दिएपछि प्रमुख जिल्ला अधिकारीसहित निरीक्षण टोली सो क्षेत्रमा गएको थियो । गाउँपालिका अध्यक्ष लामाले अनुमान गरिएकै क्षेत्रमा स्तम्भ भेटिएको बताउनु भयो ।

उक्त पिलर समुन्द्री सतहबाट ५ हजार २ सय २० मिटर उचाइमा छ । यो स्तम्भ मर्मत गर्न गएका नापी विभागका तत्कालीन प्रमुख नापी अधिकृत बलराम पोखरेल प्राविधिक टोली विवादको टुंगो लगाउनु पर्ने बताउनु हुन्छ । ‘अहिले चर्चा भएको नेपाल चीन सीमा क्षेत्रको ११ नम्बर मात्र हैन १०, ११, १२ नम्बरका पिलरहरु जमिनमा छन । ती पिलरहरु थर्ड जेआइसीको दौरानमा मसहित हाम्रो टोली र चिनियाँ टोलीले संयुक्तरुपमा मर्मत गरेको हो । त्यसताका सीमावर्ती क्षेत्रमा भबनहरु थिएनन,’ पोखरेलले आफ्नो फेसबुक स्टाटसमा लेख्नुभएको छ, ’अहिले चीनले निर्माण गरेको भवन कहाँ र कता पर्ने भन्ने सम्बन्धमा परराष्ट्रले नापी विभागका प्राविधिकसहितको टोली स्थलगत निरीक्षण गर्न द्विपक्षीय सहमतिमै सीमाको नक्सा, सीमा रेखाको रुट कोर्डिनेट र जीपीएश लगायतका यन्त्रहरुसहित टोली पठाउनु पर्यो । जाने टोलीले प्रोटोकलको राम्रो अध्ययन गरी त्यहाँको सीमारेखाको प्रकृतिका बारेमा बुझ्न जरुरी छ ।’

पोखरेलले सो क्षेत्रमा पिलरहरु लामो दुरीमा रहेको भन्दै छिट्टै टोली खटाउन पनि सुझाउनु भएको छ । ’नेपाल चीन बीचको सीमा रेखा नेपाल भारत बीचको जस्तो पिलरबाट पिलरसम्म सोझो र छोटो दुरीमा नभइ एउटा पिलरबाट अर्को पिलर लामो दुरीमा रहेका साथै पानीढलो, नदी र कही कही सोझो सीमारेखाका रुपमा रहेको छ । मलाई लाग्छ अहिले ती स्थानमा पैदल जान सकिन्छ । स्थलगत निरीक्षणले यो चर्चालाई टुंगोमा पुर्याउनेछ । टोली छिट्टै खटाउँदा राम्रो,’ पोखरेलले लेख्नुभएको छ ।

चीनले लाम्चा उपत्यकाको लोलुङजोङमा ११ वटा भवन बनाएको छ । हुम्लाका स्थानीय बासिन्दाले त्यो भूभाग नेपालको भएको बताउँदै आएका छन । चीनले भने उक्त भवन आफ्नै जमिनमा बनाएको दाबी गरेको छ । नेपाल सरकारले चीनसँग कुनै सीमा विवाद नभएको प्रष्ट पारेको छ । सरकारका प्रवक्ता एंव परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले लाप्चामा चीनले बनाएको संरचना सीमाबाट १ किलोमिटर चीनतिरै पर्ने बताउनु भयो ।

‘यस्तो समाचार २०७३ सालमा पनि आएको रहेछ । त्यतिबेला सरकारले अन्तर मन्त्रालय समिति बनाएर छानबिन गरेको थियो । उक्त अनुसन्धानका क्रममा चिनियाँ पक्षले बनाएको भवन सीमाबाट एक किलोमिटर चीनतिर रहेको देखिएको थियो,’ प्रवक्ता ज्ञवालीले भन्नुभयो, ‘अहिले पनि सिडिओसहितको टोली गएको छ । उहाँहरूले केही कुरा ल्याए सार्वजनिक गर्ने नै छौं ।’ प्रवक्ता ज्ञवालीले चीनसँग सीमा समस्या नभएको र कहिँ त्यस्ता समस्या देखिए वार्ताका माध्यमबाट समाधान गर्ने सौहार्दपूर्ण वातावरण रहेको पनि बताउनु भएको छ ।