जनता टाइम्स

८ आश्विन २०७७, बिहीबार १८:५०

एसपी खडकामाथि कारबाही गर्न गृहको सिफारिस


काठमाडौं, असोज ८ । गृह मन्त्रालयले रौतहटका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) रविराज खड्कालाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको छ। इलाका प्रहरी कार्यालय, गरूडाको हिरासतमा रहेका विजय चमारको भदौ ११ गते मृत्यु प्रकरणमा कमजोरी देखिएको ठहरसहित गृह मन्त्रालयले एसपी खडकालाई कारबाही गर्न सिफारिस गरेको हो।

गृह मन्त्रालयले इलाका प्रहरी कार्यालय, गरूडाका तत्कालीन प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञानबहादुर कुमार महत्तोलाई पनि कारबाही गर्न सिफारिस गरेको छ । दुबै जनालाई जिम्मेवारी पूरा नगरेको भन्दै कारबाही गर्न सिफारिस भएको हो। विजय चमारको शरीरमा चोटपटक देखेपछि पीडित परिवारले प्रहरीको कुटपिटबाट मृत्यु भएको आरोप लगाएका थिए। प्रहरीले भने उनको मिर्गौलाले काम नगरेपछि नेसनल मेडिकल कलेजमा मृत्यु भएको बताएको थियो। तर पोष्टमार्टम रिपोर्टले बिजयको मृत्यु चोटपटकबाटै भएको देखाएको थियो ।

सो घटनामा प्रहरीले सात जनालाई पक्राउ गरेको थियो। यसअघि प्रहरीले मृतक चमारमाथि सोधपुछ गर्ने प्रहरी निरीक्षकसहित तीन जनालाई निलम्बन समेत गरेको थियो। निलम्बन हुनेमा गरूडा कार्यालयका प्रहरी निरीक्षक नविनकुमार सिंह, प्रहरी हवल्दार हिरोज मिया धुनियाँ र मुन्ना सिंह छन्। पीडित परिवारले जिल्ला अदालत रौतहटमा एसपी खड्कासहित ६ जनाविरूद्ध किटानी जाहेरी समेत दिएको छ ।