जनता टाइम्स

८ आश्विन २०७७, बिहीबार १९:०७

सीमाबारे गलत सूचना दिएको भन्दै हुम्लाका सहायक सिडिओलाई गृहले सोध्यो २४ घण्टे स्पष्टिकरण


काठमाडौं, असोज ८ । गृह मन्त्रालयले चीनसँगको सीमा विवादबारे गलत तथ्य दिएको भन्दै हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ । मन्त्रालयले हुम्लामा चीनले सीमा अतिक्रमण गरेको विषयमा सञ्चारमाध्यममा गलत सूचना दिएको भन्दै सहायक सिडिओ दत्तराज हमाललाई स्पष्टिकरण सोधेको हो ।

प्रमुख जिल्ला अधिकारी चिरिञ्जीवी गिरीले हमाललाई कामुको जिम्मेवारी दिएर सीमा अतिक्रमणको विषयमा थप जानकारी लिन नाम्खा गाउँपालिकास्थित सीमामा जानुभएको थियो । गृह स्रोतका अनुसार हमाललाई २४ घण्टाभित्र स्पष्टिकरण पठाउन निर्देशन दिइएको छ । गृहले सीमाको विषयमा परराष्ट्र मन्त्रालयले बोल्ने भन्दै सञ्चारमाध्यमलाई गलत सूचना किन दिएको ? भन्दै स्पष्टिकरण सोधेको हो ।

सिडिओ गिरी नेतृत्वको सीमा निरीक्षण टोलीले ११ नम्बर पिल्लर फेला पारेको छ । हराएको भनिएको उक्त पिल्लर हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ स्थित लिमीको माथि ताकुलेकमा भेटिएको छ ।