जनता टाइम्स

९ आश्विन २०७७, शुक्रबार १०:५१

ओली सरकारले ल्यायो पुनःनिर्माणमा उल्लेख्य परिणाम : राजधानीमा देखिए यस्ता उत्कृष्ट काम


काठमाडौं, असोज ९

२०७२ सालमा गएको महाभुकम्पपछि राजधानी लगायत देशका विभिन्न स्थानमा भएका ऐतिहासिक स्थल, भवनहरु भत्किए । भुकम्पले भवन क्षतिग्रस्त बनाएपनि त्यसलाई बनाउने भन्दा प्रचार गर्ने र पुननिर्माणका लागि उद्घाटन गर्ने काम मात्रै बढि भए ।

दातासँग रकम माग्ने तर काम नगर्ने प्रवृत्ति बढ्दै गयो । काठमाडौंका रानीपोखरी, धरहरा, काष्ठमापण्ड, दरबार हाइस्कुल, हनुमानढोका गद्दी लगायतका क्षेत्र भत्किए भनेर देखाउने काम मात्रै भयो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले सबै ऐतिहासिक सम्पदाको पुननिर्माण चाडो सक्न निर्देशन दिनुभयो । उहाकै अगुवाईमा धरहरा पुननिर्माणले निक्कै तिव्रताका साथ काम अघि बढेको छ ।

अहिले धरहराको पन्ध्रौं तलाको काम भैरहेको छ । हरेक १४ दिनमा धरहराको एक तला ढलानको काम हुँदै आएको छ । तर यो हप्ता लगातार जसो पानी परेपछि काममा केही ढिला भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । अब धरहराको ७ तला मात्रै बाँकी रहेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार धरहरामा टावर निर्माणको काममध्ये झण्डै ६६ प्रतिशत सकिएको छ । समग्र धरहरा पुनर्निर्माणको काम भने ४२ प्रतिशत भइसकेको छ ।

धरहरा भन्दा अलिक अगाडी रहेको रानीपोखरीमा झण्डै दुई करोड ८० लाख लिटर पानी भरिएको छ । झण्डै ४२ लाख लिटर पानी भर्न बाँकी छ । पोखरीको पाँच फिट दुई इन्चमध्ये अब एक फिट जति पानी भर्न बाँकी रहेको छ । सुन्दरीजलबाट वाग्मतीको पानी ल्याएर पोखरीमा खसालेपछि रानीपोखरी भूकम्प अगाडिकै अवस्थामा फर्किएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार पोखरीमा आइतबारसम्म पानी भरिसक्ने योजना थियो, तर पानीपोखरीमा रहेको ट्यांकीमा जम्मा गरेको पानी सकिएपछि अझै केही दिन लाग्ने भएको छ । रानीपोखरीमा पानी अड्याउन मिल्ने गरी झण्डै १० करोडमा उपभोक्ता समितिले काम गरेको हो ।

रानीपोखरीको बीचमा बालगोपालेश्वर मन्दिर छ । मन्दिर अहिले पनि पुनर्निर्माणकै चरणमा छ । मन्दिरको पनि झण्डै ९९ प्रतिशत काम सकिएको प्राधिकरणले जनाएको छ । अहिले मन्दिर वरपर सफा गर्ने, गजुर र बत्ती राख्ने काम भइरहेको छ । रानीपोखरीमा बिजुली जोडेर झिलिमिली बनाइनेछ । वरपर हरियाली पनि बनाइएको छ । अब रानीपोखरी र मन्दिर पुग्न प्रवेश गेट बनाउन बाँकी रहेको छ ।

रानीपोखरी नजिक रहेको ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) को पुनर्निर्माणको काम गएको माघमै सकिएको हो । तर कोरोनाकै कारण हस्तान्तरणको काम मात्रै बाँकी छ । चीन सरकारको सहयोगमा निर्माण गरिएको दरबार हाइस्कुलको रेखदेखमा अहिले चिनियाँ टोलीको सुरक्षा गार्ड छन् ।

भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप पुनर्निर्माणकै चरणमा छ । आउँदो असारसम्म काष्ठमण्डपको काम सक्ने लक्ष्य छ । ९ महिना बाँकी रहँदा पुनर्निर्माणको काम ७० प्रतिशत सकिएको छ । काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार काष्ठमण्डपको अहिले दोस्रो तलाको काम भैरहेको छ । काष्ठमण्डप तीन तलाको हुनेछ । झिंगटीको छाना तीन तला त्यसबाहेक अरु साना साना तला हुनेछन् ।