जनता टाइम्स

९ आश्विन २०७७, शुक्रबार १८:२०

नारायणी नदीमा आएको बाढीले बगायो केटो


नवलपुर, असोज ९

नारायणी नदीमा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट गैँडाको बच्चा (केटो) बगाएको छ । निकुञ्जको दूर्गम क्षेत्र मानिने नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका र विनयीत्रिवणी गाउँपालिकाको सिमाना भेलौजीबाट नदीले केटोलाई बगाएको हो । निकुञ्जका सहायक सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार आज बिहानै करिब तीन वर्षको केटोलाई नदीले बगाएको हो ।

‘निकुञ्जको दूर्गम क्षेत्रबाट (कोर एरिया) आज बिहान गैँडाकोट बच्चालाई बगाएको छ’, उहाँले भन्नुभयो, ‘केटोलाई बगाएपछि हामीले उद्धार गर्न अथक प्रयास गर्यौँ, तर सफलता मिलेन सकेनौँ ।’ नदीको बाढीले केटोलाई बगाएर भारत पुर्याएको उहाँले जानकारी दिनुभयो । केटोलाई भारत पुर्याएपछि वाल्मीकि टाइगर रिजर्वका पदाधिकारीसँग समन्वय गरेर केटोको खोजी कार्य जारी राखिएको उहाँको भनाइ छ ।

‘अहिलेसम्म केटोको अवस्था जानकारी पाउन सकिएको छैन’, उहाँले भन्नुभयो, ‘केटो भेटिएपछि खबर गर्न भनेका छौँ ।’ यस आर्थिक वर्षमा यसअघि आएको बाढीले बगाउँदा एउटा गैँडाको बच्चा मृतावस्थामा फेला परेको थियो । विसं २०७४ सालको साउनमा आएको बाढीमा बगेर निकुञ्जका गैँडा त्रिवेणीदेखि दक्षिण पश्चिमको भारतीय क्षेत्र पुगेका थिए । निकुञ्जले यसरी बगेका र ज्यूँदै रहेका १३ वटा गैँडा उद्धार गरेर चितवन नै ल्याएको थियो ।