जनता टाइम्स

१० आश्विन २०७७, शनिबार १५:२१

जहाँ समस्या, त्यँही उपमेयर


बेलबारी, असोज १० । जनताको काममा लगनशील,जनउत्तरदायी र व्यस्त उपमेयरको रुपमा चर्चा कमाउनु भएकी बेलबारी नगरपालिकाकी उपेयर तारा पराजुलीले पछिल्लो समय आफ्नो कार्यकौशलले थप चर्चामा मात्र हुनुहुन्न । जनताको स्यावाबासी समेत पाइरहनु भएको छ ।

नगरपालिकाभित्रका नागरिक समस्यामा परेको सुन्ना साथ उहाँ आवश्यक सहयोगसहित जनताको घरघरमा पुग्नुहुन्छ। बिहिबार बेलबारीकै कलाकार राघव क्यान्सर रोगले पीडित भएको खवर थाहा पाएपछि बेलबारी नगरपालिकाकी उपमेयर पराजुली उनलाई भेट्न निवासमै पुग्नुभएको छ । बिहिवार जनप्रतिनिधिहरु वडा नं २ की खीना थापा बस्नेत, वडा नं ३ कि निशाकिरण राई वडा नं ४ कि आनन्द मोतेसहित पुग्नुभएकी उपमेयर पराजुलीले कलाकार राघवको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयो । उहाँले नगरपालिकाको पहिलो सम्पत्ति नै नागरिकको स्वास्थ्य भएका कारण राघवको विग्रदो स्वास्थ्य अवस्थाप्रति नगरपालिका परिवार चिन्तित रहेको बताउनु भयो ।

‘राघवको प्रतिभाका कारण स्थानीय संघ संस्थाले थप उचाइ प्राप्त गरेका छन्। बेलबारीले थप पहिचान पाएको छ। तसर्थ बेलबारीको एउटा सुन्दर परिचयको रुपमा स्थापित राघवलाई बचाउने दायित्व हाम्रो (स्थानीय सरकारको) पनि हो। त्यसैले उनको उपचारमा पालिकाको तर्फबाट सहयोग भइरहेको छ। थप उपचारको लागि पनि पहल गरिने छ,’ उपप्रमुख पराजुलीले भन्नुभयो । वडाका जनप्रतिनिधिसहित राघवको घर पुगेकी उपमेयरले आर्थिक अवस्था अत्यन्तै दयनीय भएका राघवको परिवारलाई चामल,दाल,नुन,तेल साबुन लगायत खाद्यान्न र अत्यावश्यक सामग्री राहतस्वरूप उपलब्ध गराएको उपमेयर पराजुलीले बताउनु भयो ।

बेलबारी भक्काचोक निवासी कलाकार राघव विगत ७ महिनायता लिभरक्यान्सरका कारण ओछ्यानमा छन् । आफ्नो प्रतिभाका कारण स्थानीय विकासमा अनेकौं योगदान पुर्याएका कलाकार राघवलाई देश विदेशबाट सहयोग जुट्ने क्रम जारी रहेको स्थानीय समाजसेवी गंगा श्रेष्ठले बताउनु भयो । भोको पेटले क्यान्सरसँग लड्दैगरेको बेला उपमेयरसहितको जनप्रतिनिधि टोलीले खाद्यान्न सहयोग गरेकोमा राघवले उपमेयरको टोलीलाई धन्यवाद दिए।