काठमाडौं, असोज ११
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले बझाङको मष्टा गाउँपालिका–२ निवासी १२ वर्षीय नाबालिका सम्झना विकको शंकास्पद अवस्थामा हत्या भएको घटना निन्दनीय भएको बताउनुभएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँले भन्नुभएको छ, ‘प्रारम्भिक विवरण अनुसार सम्झनाको बलात्कार गरी हत्या गर्ने जघन्य अपराधमा संलग्न जो कोही भए पनि तत्काल पक्राउ गरी हदैसम्मको कारवाही गर्न सरकारसँग माग गर्दछु ।’
गएका केही महिनायता देशभरि नै दलित समुदायविरुद्ध आक्रमण र हिंसाका घटनाहरु बढ्दै गएका छन् । रुकुम पश्चिममा नवराज विकलगायतका ६ जना युवाहरुको नृशंस हत्यापछि मधेशमा पनि दलित समुदायविरुद्ध हत्या र हिंसाका घटना भएका छन् । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको देशव्यापी विरोध हुँदा पनि अहिलेसम्म सरकारले दोषी पत्ता लगाउन सकेको छैन ।
देशभरि यसरी दण्डहीनताको स्थिति बढ्दै जाँदा त्यसको पहिलो शिकार महिला र बालबालिका नै हुने अन्तर्राष्ट्रिय अनुभवहरुले देखाएका कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘नेपालको संविधान २०७२ ले नागरिकको जीउधनको सुरक्षा राज्यको प्रमुख दायित्व भनेको छ तर कोरोना महामारी नियन्त्रण होस् वा रोग र भोकसँग जुधिरहेका जनतालाई राहत दिने काम होस् वा शान्ति सुरक्षा कायम गर्न नेकपा सरकार असफल हुँदै गएको छ, यो सरकारबाट सुशासनको अपेक्षा गर्नु वैशाख–जेष्ठको मध्याह्न गर्मीमा शीतलताको अपेक्षा गर्नु जत्तिकै हो’ उहाँले भन्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्