जनता टाइम्स

११ आश्विन २०७७, आईतवार १४:०५

‘सेल्फ ग्राउन्ड ह्याण्डलिङ’को निर्णय तत्काल कार्यान्वयन नहुने, अन्य कम्पनीका पनि मापदण्ड जाँच हुने


काठमाडौं, असोज ११

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ‘सेल्फ ग्राउन्ड ह्याण्डलिङ’दिने निर्णय तत्कालका लागि कार्यन्वयन नगर्न निर्देशन दिनु भएको छ । हिमालय एयरलायन्सलाई दिइएको ‘सेल्फ ग्राउन्ड ह्याण्डलिङ’ को अधिकार यथास्थितिमा राख्न मन्त्री भट्टराईले नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनु भएको हो ।

मन्त्रालयको उच्च अधिकारीसँग छलफल नै नगरी प्राधिकरणले सो निर्णय गरेको भन्दै उहाले तत्काल कार्यन्वयनमा नलैजान निर्देशन दिनु भएको स्रोतले जानकारी दिएको छ । मन्त्रालयमा प्राधिकरणका महानिर्देशक राजन पोखरेल, पर्यटन सचिव केदारबहादुर अधिकारी र मन्त्री भट्टराईबीच भएको छलफलमा उहाले महानिर्देशक पोखरेललाई हिमालय एयरलायन्सलाई असोज ४ गते दिइएको ‘सेल्फ ग्राउन्ड ह्ण्डलिङ’ को प्रमाणपत्रलाई हाललाई यथास्थितिमा राख्न निर्देशन दिनुभयो ।

‘हिमालयको व्यवसायिक क्षमता थप अध्ययन गरेरमात्रै निर्णय कार्यान्वयन गर्नु भनिएको छ,’ स्रोतले भन्यो । हिमालयले सातामा ३५ वटा उडान अनुमति पाएको विवरण पेश गर्दै २ वर्षअघि सेल्फ ग्राउन्ड ह्याण्डलिङका लागि आवेदन दिएको थियो । उक्त आवेदनमा कारबाही गर्दै महानिर्देशक स्तरिय निर्णयबाट आइतबार प्रमाणपत्र जारी गरिएको थियो । प्राधिकरणको सञ्चालक समितिका अध्यक्ष मन्त्री भट्टराई हुनुहन्छ ।

यसैबिच, मन्त्री भट्टराइले हाल सेल्फ ग्राउन्ड ह्याण्डलिङ गर्दै आएका थाई एयर र एयर इन्डियाले पनि प्राधिकरणको ‘वायु यानहरुको भूमिस्थ प्रबन्ध (ग्राउन्ड ह्याण्डलिङ) तथा अन्य भूमिस्थ सेवा सञ्चालन निर्देशिका–२०७२’ अनुसार मापदण्ड पूरा नगरेकाले उनीहरुको प्रमाणपत्र रद्द गर्दै नेपाल वायुसेवा निगमलाई दिलाउन निर्देशन दिएको स्रोतले बतायो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय तथा चार्टर वायु यानहरुको व्यवसायिक भूमिस्थ प्रबन्ध (ग्राउन्ड ह्याण्डलिङ) को जिम्मा निगमले गर्दै आएको छ । यीबाहेक अन्तर्राष्ट्रिय उडान गर्दै आएका बुद्ध र श्री एयरलायन्सले पनि सेल्फ ग्राउन्ड ह्याण्डलिङ गर्दै आएका छन् ।

निगमले आर्थिक वर्ष २०७५र७६ मा ग्राउन्ड ह्याण्डलिङबाट ४ अर्ब ३८ करोड आम्दानी गरेको थियो । २०७६र७७ मा ५ अर्ब १६ करोडको लक्ष्य थियो तर २ अर्ब ७८ करोड हाराहारी आम्दानी गरेको छ ।