जनता टाइम्स

११ आश्विन २०७७, आईतवार १९:३४

मन्त्री गुरुङ भन्नुहुन्छ : महिला आयोगका पदाधिकारीको नियुक्ति छिट्टै


काठमाडौं, असोज ११

सरकारले लामो समयदेखि रिक्त रहेको राष्ट्रिय महिला आयोगका पदाधिकारी छिट्टै नियुक्त गर्ने तयारी गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले राजनीतिक नेतृत्व तहमा संवैधानिक आयोगहरुलाई पूर्णता दिने विषयमा गहन छलफल भईरहेको उल्लेख गर्दै राष्ट्रिय महिला आयोगको पदाधिकारी छिट्टै नियुक्त हुने विश्वास व्यक्त गर्नु भएको हो ।

आईतबार काठमाडौंमा आयोजित ‘विपद्मा महिला अधिकार र राष्ट्रिय महिला आयोग’ विषयक भर्चुअल बैठकमा बोल्दै उहाँले दशैं अघि नै सो आयोग गठन हुनेगरी संवैधानिक आयोगका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेतृत्वसँगको छलफललाई अघि बढाउनु भएको पनि स्पष्ट पार्नु भयो । ‘दशैं अघि नै राष्ट्रिय महिला आयोगका पदाधिकारी नियुक्त हुने गरी सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवासहितका राजनीतिक नेतृत्वसँगको छलफललाई तीब्रता दिनु भएको छ,’ मन्त्री गुरुङले भन्नु भयो,‘दशैं अघि नै महिला आयोगलगायतका संवैधानिक आयोगका पदाधिकारी नियुक्त हुने विश्वास व्यक्त गर्दछु ।’

उहाँले राष्ट्रिय महिला आयोगको पदाधिकारी नियुक्ती गर्ने काम संवैधानिक परिषदको भएपनि त्यसका लागि आफूले पहल गरिरहेको स्मरण गराउनु भयो । महिला हिंसाका घटना हुन नदिन पनि महिला आयोगका पदाधिकारी नियुक्त गर्न सरकारले ढिलाई गर्न नहुनेमा आफू सचेत रहेको मन्त्री गुरुङको भनाई थियो ।

मन्त्री गुरुङले महिलामाथि हुने हिंसा सुनुवाई गर्न महिला आयोगले संचालनमा ल्याएको हटलाईन सेवा ११४५ लाई थप प्रभावकारी बनाउन मन्त्रालयले छिट्टै आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । कार्यक्रममा बोल्दै यूएन सिड कमिटीकी उपाध्यक्ष बन्दना राणा, महिला अधिकारकर्मी डा. रेणु अधिकारीलगायतले महिला हिंसाका घटना हुन नदिने संवैधानिक आयोग भएकाले महिला आयोगको पदाधिकारी नियुक्तीमा ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।