जनता टाइम्स

१२ आश्विन २०७७, सोमबार ०८:४९

कडा चट्टान फोडेर सेनाले खुलायो कालापानी जाने बाटो


दार्चुला, असोज १२ । नेपाली सेनाले व्यास गाउँपालिकाको घाँटीबगरदेखि छाङरू जोड्ने कडा चट्टानी भीरमा घोडेटो बाटोको ट्र्याक खुलाएको छ । नेपाली सेनाले चार महिनाको कडा मेहनतपछि बाटो खुलाएको हो ।

गत जेठ ९ गतेबाट काम सुरु गरेको सेनाले सम्झौता अनुसार ५ सय ५० मिटर बाटोको ट्र्याक खुलाउने काम सकेको छ । कडा चट्टानी भूगोल, भारतीय अवरोध, प्रतिकूल मौसम र निर्माण सामग्री ढुवानीमा ढिलाइ हुँदा दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सुरु गरेको बाटो निर्माणको काम चार महिनामा सकिएको हो । दुर्गादल गुल्म दार्चुलाका गुल्मपति विक्रमदेव थापाका अनुसार चट्टानी भीर फुटाएर खुलाइएको ट्र्याकमा सफाइको कामसमेत सकिएको छ ।

यो बाटो खुलेसँगै व्यासवासीलाई नेपालकै बाटो भएर गाउँसम्म आवतजावत गर्न सहज भएको छ । बाो निर्माणसँगै व्यासको छाङरू र तिङ्कर गाउँमा बसोबास गरेका झन्डै दुई सय परिवारलाई दार्चुला सदरमुकाम कुन्चा सर्न सहज हुने सेनाले जनाएको छ । व्यासी हरेक वर्ष छ महिना व्यास र छ महिना सदरमुकाम खलङ्गा बस्ने गर्छन । खलङ्गाको गर्मी छल्न गाउँ उक्लिएका व्यासी चिसो बढेपछि पुनः मंसिर पहिलो साता खलङ्गा झर्ने गर्छन् ।

विगतमा नेपालतर्फ बाटो नहुँदा व्यासी भारतीय बाटो प्रयोग गरेर गाउँ जाने गरेका थिए । यो वर्ष सीमा विवाद, लकडाउन र सीमा नाका बन्द भएकाले व्यासीलाई गाउँ फर्किन समस्या थियो । घोरेटो बाटो निर्माण भएसँगै व्यास पुग्न नेपाल र भारत दुवैतर्फको प्रशासनको अनुमति लिनुपर्ने बाध्यता अन्त्य भएको छ । व्यास गाउँपालिका–१ निवासी नगेन्द्र तिङ्करीले चट्टानी भूगोलले काममा केही ढिलाइ भए पनि स्थानीयवासीका लागि सहज रूपमा आवतजावत गर्न मिल्ने गरी बाटो निर्माण भएको बताउनुभयो ।

सरकारले दार्चुला तिङ्कर सडक अन्तर्गत व्यास गाउँपालिका–२, कोठेधारदेखि तिङ्करसम्मको ८७ किलोमिटर क्षेत्रमा सडक निर्माणको जिम्मा पनि नेपाली सेनालाई दिएको छ । घोडेटो बाटो खुलाएको सेनाले केही दिनपछि तिङ्कर सडक निर्माणको काम थाल्नेगरी तयारी अघि बढाएको छ । सडक निर्माण गर्न टेन्डर र परामर्शदातामार्फत विस्तृत आयोजना अध्ययन प्रतिवेदन निर्माणको काम भइरहेको छ । गुल्मपति थापाका दुई ठाउँमा क्याम्प राखेर सडक निर्माण गर्ने योजना रहेको छ ।