जनता टाइम्स

१२ आश्विन २०७७, सोमबार ११:४८

चटपटेको विषयमा विवाद हुँदा बालिका हत्या गर्ने पक्राउ


सुनसरी, असोज १२

बराहक्षेत्र नगरपालिका–१ कटहरेकी १२ वर्षीया बालिका मीना राईको हत्या गरेको अरोपमा एक जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिमेकी १६ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताउनुभयो ।

चटपटे किनबेचको विषयमा वादविवाद हुँदा ती किशोरले शनिबार राति बालिकाको घरमा कोही नभएको बेला बोतलले प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । शनिबार बालिकाको अभिभावक छोरीलाई घरमै राखेर छिमेकीको घरमा धामी बसेको हेर्न गएका बेला चटपटे किन्न आएका किशोरसँग विवाद भएको थियो ।

त्यसपछि ती किशोरले बोतलले प्रहार गर्नुका साथै घाँटी कसेर हत्या गरेको अनुसन्धानबाट खुलेको सुनसरीका प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।