जनता टाइम्स

१३ आश्विन २०७७, मंगलवार १६:४७

सम्झना विकको बलात्कारपछि हत्या प्रकरणमा सभामुखले खोले मुख


काठमाडौं, असोज १३

सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ बर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताउनुभएको छ । आज सिंहदरबारस्थित कार्यकक्षमा बझाङ बलात्कार घटनाबारे ध्यानाकर्षण गराउन आएका सुदुरपश्चिमका संघीय सांसदहरुसँगको भेटमा उहाँले घटनालाई राज्यले चुनौतीका रुपमा लिनुपर्ने बताउनुभयो ।

सभामुख सापकोटाले जनता अन्याय, दमन र समस्यामा परेका बेला उनीहरुलाई साथ दिनु जनप्रतिनिधिको कर्तव्य भएको बताउँदै कानुनको प्रभावकारी कार्यान्वयनका लागि पहल जारी राख्न आग्रह गर्नुभयो ।

बझाङबाट प्रतिनिधि सभा सदस्य आशा कुमारी विकलगायतका सांसदहरुले सभामुख सापकोटालाई भेटेर बझाङकी १२ बर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीका लागि पहल गरिदिन ध्यानाकर्षण गराउनुभएको थियो । सांसदहरुले घटनाको निष्पक्ष छानबिन, पीडकलाई कारबाहि र पीडित परिवारलाई उचित क्षतिपूर्तिका विषयमा ध्यानाकर्षण गराएका थिए ।