जनता टाइम्स

१४ आश्विन २०७७, बुधबार १०:५७

बामदेवको मुद्दा हेर्न प्रधानन्यायाधीशको नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन


काठमाडौँ, असोज १४

राष्ट्रिय सभामा मनोनित नेकपा उपाध्यक्ष बामदेव गौतमको योग्यतामाथि उठेको प्रश्नबारे सुनुवाइ गर्न सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गरेको छ । थप संवैधानिक जिम्मेवारी नदिनु भनि सर्वोच्चले यसअघि जारी गरेको अन्तरिम आदेशसँगै यो मुद्दा संवैधानिक इजलासमा पठाउने निर्णय गरेको थियो ।

प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको नेतृत्वमा गठित ५ सदस्यीय इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहनु भएको छ ।

उक्त संवैधानिक इजलासमा अधिवक्ता बद्रिराज भट्ट र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दर्ता गरेका छुट्टाछुट्टै निवेदन परेका छन् । संवैधानिक इजलासले दुवैपक्षको तर्क सुनी गौतमको मनोनयनमाथि अन्तरिम आदेश जारी गर्ने वा नगर्ने आदेश गर्नेछ । आदेश जारी गरेमा गौतमले राष्ट्रिय सभा सदस्यको जिम्मेवारी पाउने छैनन भने अन्तरिम आदेश जारी नगरेमा उनले मनोनयनअनुसारको अरु जिम्मेवारी लिन कानुनी रुपमा बाधा पर्नेछैन ।

नेकपाका उपाध्यक्ष समेत रहनु भएका गौतमको पक्षमा केही बरिष्ठ अधिवक्ता सहित १३ जना वकिले बहस गर्नुहुने भएको छ । यस्तै, मुद्दा दायर गर्ने दिनेश त्रिपाठीका पक्षबाट पनि वरिष्ठ अधिवक्ता हरि उप्रेतीसहित ९ भन्दा बढी वकिलले बहस गर्नेछन् । सम्भवत दुई दिनमा दुवै पक्षबाट बहस सकिने अनुमान गरिएको छ ।