स्याङ्जा, असोज १७ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमार अर्यालले केही दिनअघि परेको अबिरल वर्षाका कारण आएको पहिरोमा परी मृत्यु भएका मृतक तथा घाइतेका परिवारलाई राहत बितरण गर्नुभएको छ । मन्त्री अर्यालले गत असोज ८ गतेको पहिरोमा परि वालिङ नगरपालिका १४ मा मृत्यु भएका परिवारलाई आज राहत प्रदान गर्नुभएको हो ।
राहत हस्तान्तरण गर्दै मन्त्री अर्यालले स्वर्गीय माया नेपालीका छोरा भोजराज र छोरी मनिषाले आफ्ना अभिभावक गुमाउनुपरेको पीडा आफूले महसुुस गरेको बताउनुभयो । मृतकका छोरा र छोरीको अभिभावक सरकार रहेको बताउदै मन्त्री अर्यालले मनिषाको शिक्षाका लागि आफूले व्यवस्था गर्ने र अभिभावक समेत आफु रहेको बताउनुभयो । पहिरो पिडित भोजराजको बस्ने घर नै पहिरोले पुरेपछि अहिले नजिकैको विद्यालयमा काजक्रियामा रहेका छन् । पिडितको घर सरकारले बनाइँदिने भन्दै मन्त्री अर्यालले पहिरो पिडित र विस्थापित परिवारको आवास निर्माणका लागी सरकारले व्यवस्था गर्ने बताउनुभयो ।
अर्यालको माइती गाउँ वालिङ नगरपालिका(१४ तमादीमै पुगेर १० लाख २० हजार प्रदान गर्नुभएको हो । राहत रकम नेपाल सरकारको तर्फबाट ७ लाख र मन्त्रालयको पहलमा ३ लाख रकम मन्त्रीले प्रदान गर्नु भएको हो । असोज ८ गते घर माथिबाट आएको पहिरोमा पुरिएर माया नेपालीको ८ जना परिवार र बहिनी उमाकला गरी ९ जनाको मृत्यु भएको थियो । यसैगरी मन्त्री अर्यालले कालिगण्डकी गाउँपालिका ४ मा गत असोज ८ गते गौतमडाँडा र असार ३० गते खहरेमा पहिरोले पुरिएर मृत्यु भएका परिवारलाई राहत प्रदान गर्नुभएको छ । पहिरो पीडित परिवारको घरमै पुगेर मन्त्री अर्यालले राहत प्रदान गर्नुभएको हो ।
मन्त्री अर्यालले असोज ८ गते मृत्यु भएका १७ वर्षिय बिष्णु दमैको परिवालाई केन्द्र सरकारको तर्फबाट २ लाख, प्रदेश सरकारको तर्फबाट ५० हजार र सहकारीको तर्फबाट ४० हजार राहत प्रदान गर्नुभएको हो । यसैगरी उहाँले पहिरोले घरमा क्षति पुगेको औमायाँ नेपालीलाई २० हजार र अन्य तीन परिवारलाई ५र५ हजारका दरले सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । यसैगरी गत असार ३० गते पहिरोमा परेर मृत्यु भएका चार जनाका परिवारलाई संहकारी संघका तर्फबाट २०र२० हजार र बिस्थापित चार परिवारलाई १५र१५ हजार राहत मन्त्री अर्यालले प्रदान गर्नुभएको हो ।
राहत प्रदान गर्दै मन्त्री अर्यालले मृतक परिवार र बिस्तापित परिवारलाई माया गर्दै आवश्यक सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । पहिरोले प्रभावित परिवारको घर निर्माण गर्न सरकार इट्टा बन्ने बताउँदै मन्त्री अर्यालले सरकार सहयोग गर्न कुनै कन्जुस्याई नगर्ने बताउनुभयो ।
’तपाईहरु सबैले पहिरोबाट पीडित हुनुभएका दाजुभाइदिदीबहिनीहरुलाई सहयोग गर्नुस । सरकार तपाइहरुको साथमा छ । जग्गा नभएकाहरुलाई जग्गा खोजेर नै सरकारले घर बनाईदिन्छ’, मन्त्री अर्यालले भन्नुभयो । मन्त्री अर्यालले त्यस अवसरमा पहिरो गएको क्षेत्रको प्रत्यक्ष अवलोकन समेत गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्