जनता टाइम्स

१७ आश्विन २०७७, शनिबार २०:२६

प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ : बिहीवारयता छैन संक्रमित सचिवालयका टीमसँग भेट


काठमाडौं, असोज १७ । प्रधानमन्त्री केपी शर्मा ओलीको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकारसहित सचिवालयका चार जना सदस्यलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे चासो बढेपछि जनताटाइम्ससँगको कुराकानीमा प्रधानमन्त्रीका निजी सचिवालयले उहाँको पिरिआर परीक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको हो ।

प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार बिष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र सुरक्षा प्रमुख महासेनानी अच्युतम भण्डारीलाई कोरोना संक्रमण भएको छ । उहाँहरु सवैको कोरोना परीक्षण अघि प्रधानमन्त्री ओलीसहित स्वकीय सचिव राजेश बज्राचार्यको पिसिआर परीक्षण गरिएको थियो । प्रधानमन्त्रीका सञ्चारबिज्ञ रामशरण बजगाईले जनताटाइम्सलाई दिनुभएको जानकारी अनुसार प्रधानमन्त्री ओलीको बुधबार स्वाव संकलन गरिएको थियो ।

प्रधानमन्त्री ओलीको बिहीवार पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो । प्रधानमन्त्रीले पिसिआर रिपोर्ट आएपछि शुक्रवार सचिवालयका सदस्य र सुरक्षा प्रमुखको पिसिआर परीक्षण गरिएको हो । प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री ओलीको पिसिआर परीक्षणपछि संक्रमित भएका सल्लाहकारसहित कसैसँग भेटघाट नभएको बताएको छ ।

‘प्रधानमन्त्रीको रिपोर्ट बिहीवार आयो, त्यसयता उहाँले सल्लाहकार र संक्रमित सुरक्षाकर्मीहरुसँग निकटको सम्पर्क राख्नुभएको छैन,’ बजगाईले भन्नुभयो । सचिवालयका सदस्यहरुमा कोरोना पोजेटिभ देखिएपछि प्रधानमन्त्री ओलीको सुरक्षा सतर्कतामा भने बिशेष ध्यान दिइएको छ । प्रधानमन्त्री ओलीले पहिलादेखि नै बिशेष स्वास्थ्य मापदण्ड पालना गर्दै आउनु भएको र कसैसँग तोकिएको भन्दा बढी दुरी कायम राखेर आफूलाई परिचालित गर्नुभएको पनि बालुवाटारले जनाएको छ ।