जनता टाइम्स

१८ आश्विन २०७७, आईतवार ११:४५

कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चित


काठमाडौं, असोज १८

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक अनिश्चित भएको छ । सोमबारको लागि बोलाइएको बैठकमा कोरोना जोखिम न्यूनिकरण गर्नका लागि भन्दै कांग्रेसले केन्द्रीय सदस्यहरु, पदाधिकारी, कार्यालयका कर्मचारी र नेताका सुरक्षाकर्मीको स्वाब परीक्षण गर्दा केही नेतालाई कोरोना पुष्टि भएसँगै बैठक अनिश्चित भएको हो।

गत बिहीबार कांग्रेस केन्द्रीय कार्यालयमै २४१ जनाको स्वाब संकलन गरिएको थियो । उक्त स्वाबको रिपोर्ट आउँदा ४ जना नेतालाई कोरोना संक्रमण पुष्टि भए पछि बैठक धकेलिएको हो।

केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगन थापा, आमन्त्रित सदस्य शम्भुलाल श्रेष्ठ र कल्पना चौधरीमा कोरोना संक्रमण देखिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । सोमबार बस्ने बैठकमा आगामी फागुनमा हुने भनिएको महाधिवेशन मिति सार्ने तथा, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ध्यानाकर्षण गराएको पत्रमाथि छलफल हुने बताइएको थियो।