जनता टाइम्स

१८ आश्विन २०७७, आईतवार १२:२५

विरोध प्रदर्शन रोक्न दर्जन ठाउँ निषेधित, तर बुटवलका निषेधित क्षेत्रमै प्रदर्शन


बुटवल, असोज १८

जिल्लाको निषेधित क्षेत्र घोषणा गरेको ठाउँमै प्रदर्शन भएको छ । प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ (राप्ति उपत्यका क्षेत्र) सार्ने प्रस्तावको विरोधमा बुटवलमा दुई दर्जन व्यवसायिक संस्थाहरुले संयुक्त प्रदर्शन गरेका छन् । जिल्ला प्रशासन कार्यालयले ५ जनाभन्दा बढी भेला हुन नपाउने गरी चार दिनका लागि निषेधित क्षेत्र घोषणा गरेको ठाउँमै प्रदर्शन भएको हो । रुपन्देहीलाई राजधानी कायम गर्न माग गर्दै भएको प्रदर्शनमा उद्योगी, व्यवसायी र सर्वसाधारणले विरोध प्रदर्शन गरेका हुन् ।

बुटवल राजमार्ग चौराहाबाट सुरु भएको विरोध र्‍याली ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्ने वक्ताहरुले रुपन्देहीमा प्रदेश सरकारका पूर्वाधारका लागि भएको करोडौं लगानी खेर जानेगरी कोरोना महामारीको असहज परिस्थितिको मौका छोपेर मुख्यमन्त्री शंकर पोखरेलको स्वार्थमा राजधानी दाङ सार्ने प्रयास भएको भन्दै आन्दोलन चर्कोउने चेतावनी दिए । पर्याप्त पूर्वाधार बनिसकेकाले रुपन्देही नै प्रदेश राजधानी उपयुक्त रहेको भन्दै सांसदहरुलाई प्रस्तावको विपक्षमा मतदान गर्न उनीहरुले आग्रह गरेका छन् ।

कोणसभामा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, नेपाल उद्योग परिसंघका प्रदेश ५ अध्यक्ष एजाज आलम, रुपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष माधव पौडेल, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष समुन् जिसी, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी लगायतले प्रदेश सभा र प्रदेश सरकारलाई रुपन्देहीका व्यवसायिक संस्थाहरुले आफ्ना कार्यालय भवन दिएर सहयोग गरेको तर सरकारले जनभावना कुल्चेर अघि बढेको आरोप लगाउनुभएको थियो ।

व्यवसायिक संस्थाहरुको सञ्जालले राजधानी सार्ने प्रस्तावको विरोधमा भोली प्रदेश ५ मा पर्ने साविक लुम्बिनी अञ्चलका ६ जिल्ला बन्दको आहृवान गरेको छ । त्यस्तै राजधानी दाङ सार्ने प्रस्तावको विरोधमा कांग्रेसले आहृवान गरेको रुपन्देही बन्दको प्रभाव परेको छ । मुख्य राजमार्गहरुमा सार्वजनिक यातायातका सधान चलेका छैनन् । मुख्य बजार क्षेत्रहरु पनि बन्द छन् । निजी सवारी साधन भने छिटफुटरुपमा चलेका छन् । नेपाली कांग्रेसका कार्यकर्ताहरुले सडकमा ठाउँ–ठाउँमा टायर बालेका छन् । बुटवलका चोक–चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।