जनता टाइम्स

१८ आश्विन २०७७, आईतवार १२:४०

यसरी युरोप पुग्छ नेपाली महिलाले उत्पादन गरेको जडीबुटी तेल


नवलपरासी, असोज १८

नेपालको नवलपरासी पश्चिमस्थित बर्दघाटका महिलाले चिसापानी सामुदायिक वनमा जडीबुटी खेती गरी त्यसबाट उत्पादन गरेको तेल युरोपका बजार पुग्न थालेको छ। ‘लालीगुराँस महिला जडीबुटी कृषक समूह’ ले तयार पारेको उक्त जडीबुटीको तेल युरोपमा पुग्ने गरेको हो । नवलपरासीको बर्दघाटस्थित चिसापानी सामुदायिक वनका महिला उपभोक्ताहरुले आफूहरुले वनमा नै समय विताएर काम गर्दै आएको बताएका छन् ।

चिसापानी सामुदायिक वनका अध्यक्ष होमबहादुर गुरुङले स्थानीय महिलाले सामुदायिक वनको ४० हेक्टर जग्गामा जडीबुटी लगाएको जानकारी दिनुभयो । वनमा लेमन ग्रास, सिटोनेलालगायत रोपिएको पनि बताउनुभयो । ८७ जना महिलाको आबद्ध रहेको समूहले घरमा समय त्यसै खेर फाल्नुभन्दा वनले उपलब्ध गराएको जग्गामा जडीबुटी खेती गर्न थालेको समूहकी सचिव मनकुमारी खत्रीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीलाई काममा गएर समय पनि सदुपयोग भएको छ र थोरै धेरै पैसा पनि आएको छ । त्यही पैसालाई हामीले समूहमा नै बचत गर्ने गरेका छौँ, २ लाख बचत छ ।’ २०६९ देखि वनमा जडीबुटी खेती गर्न थालिएको हो । अध्यक्ष गुरुङका अनुसार महिलाले गरेको सिटौनेला र लेमनग्रासबाट वर्षमा २०० लिटर तेल उत्पादन हुन्छ ।

लेमनग्रासको प्रतिलिटर रु २२०० र सिटौनेलाको प्रतिलिटर रु १९०० मा बिक्री हुन्छ। अहिले महिलाहरुले वनमा मात्र नभइ निजी जग्गा भाडामा लिएर समेत जडीबुटी खेती गरेका छन्। सचिव खत्रीका अनुसार एक हेक्टर जग्गामा मेन्था लगाइएको र त्यसबाट वर्षमा १०० लिटर तेल उत्पादन हुन्छ। मेन्थाको तेल प्रतिलिटर रु.४००० मा बिक्री हुन्छ।