जनता टाइम्स

१९ आश्विन २०७७, सोमबार १०:००

तातोपानी र घरभित्रकै यी औषधी सेवन गरेर १०१ वर्षीया वृद्धाले जित्नुभयो कोरोनासँगको लडाई


भक्तपुर, असोज १९ । मध्यपुर थिमि नगरपालिका–६, पाचोकी निवासी १०१ वर्षीया वृद्धा १६ दिनमा कोरोना संक्रमणबाट मुक्त हुनुभएको छ । यही असोज २ गते कोरोना संक्रमणमा पर्नुभएकी बृद्धा गणेशमाया प्रजापतिले १६ दिनमै कोरोनालाई जित्नुभएको हो ।

प्रजापतिको गत शुक्रवार साँझ पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएको छ । मध्यपुर थिमि नगरपालिका वडा नम्बर ६ का वडाध्यक्षसमेत रहनुभएका उहाँका छोरा इन्द्रबहादुर प्रजापतिले उच्च आत्मबलकै कारण आमाले कोरोनालाई परास्त गरेको बताउनु भयो । कुनै रोग नभए पनि गणेशमाया शारीरिक रुपमा भने केही कमजोर हुनुहुन्थ्यो । उहाँले नियमित भिटामिन ई सेवन गर्दै आउनु भएको छ । एक दिन भिटामिन ई सेवन नगरे थकान महसुस गर्ने गरेको इन्द्रबहादुरले जानकारी दिनुभयो ।

कोरोना संक्रमणका बेला गणेशमायामा कुनै विशेष खालको लक्षण नदेखिएको र सामान्य रुघाखोकी र छाती दुख्ने लक्षण देखिएको थियो। ‘केही वर्षअघि स्वास्थ्य परीक्षण गर्दा आमाको मुटु केही सुन्निएको र कमजोर छ भनेका थिए। त्यसैले अहिले छाती दुख्ने लक्षण देखिएको होला,’ इन्द्रबहादुरले भन्नुभयो, ‘अरु खासै त्यस्तो लक्षण पनि देखिएन। स्वास्थ्यमा समस्या पनि आएन, सामान्य नै रह्यो।’ कोरोना संक्रमण पुष्टि भएपछि गणेशमाया होम आइसोलेसनमा नै बस्नुभयो । छोरा इन्द्रका अनुसार आइसोलेसनमा बसेका बेला उहाँले दिनमा दुई चक्की भिटामिन सीबाहेक अन्य औषधि लिनुभएन ।

उहाँका अनुसार गणेशामायाले नियमितरुपमा पौष्टिक खाना र तातोपानी सेवन गर्ने, तातोपानीको बाफ लिने र घरेलु औषधिकोरुपमा ल्वाङ, सुकुमेल, अलैंची, बेसार, अदुवा, पिपला, जाइपत्रीलगायत मिसाएर तातोपानी सेवन गर्नुभएको थियो । परिवारमा गणेशमायालाई मात्र नभई संक्रमित आफू र दिदी तथा छोरामा समेत कुनै विशेषखालको लक्षण नदेखिएको र सबैले नियमितरुपमा वाफ लिने, तातोपानी पिउने र पौष्टिक खाना खाएर कोरोना जितेको इन्द्रबहादुरले जानकारी दिनुभयो ।

इन्द्रका अनुसार आफ्नो कोरोना परीक्षण पोजिटिभ आएपछि परिवारको परीक्षण गर्ने क्रममा आमा गणेशमायामा पनि संक्रमण देखिएको थियो। इन्द्रबहादुरका अनुसार उहाँकी दिदी र छोरामा पनि संक्रमण देखिएको थियो।