जनता टाइम्स

१५ जेष्ठ २०७६, बुधबार २३:१६

निजी क्षेत्रद्धारा बजेटको प्रशंसा


काठमाडौं

सरकारले ल्याएको बजेटको निजी क्षेत्रले प्रशंसा गरेका छन् । बजेट अत्यन्तै राम्रो रहेको टिप्पणी गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले सरकारले ल्याएको बजेट अत्यन्तै राम्रो रहेको टिप्पणी गर्नुभयो ।

बजेट भाषण सकिएपछि लगत्तै बुधबार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ कुरा गर्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष राणाले सरकारले ल्याएको बजेट उत्साहजनक रहेको टिप्पणी गर्नुभयो । उहाँले धागो तथा कपडा उद्योगका लागि ५० प्रतिशत विद्युत महशुल छुट गर्ने प्रावधान बजेटमा आउनु स्वदेशी उद्योगका लागि उत्साहजनक भएको पनि स्पष्ट पार्नुभयो ।

नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष अग्रवालले समग्रमा बजेट अन्त्यन्तै राम्रो भएको प्रतिक्रिया दिनु भयो । उहाँले बजेट लगानी मैत्री भएको र त्यसले निजी क्षेत्रको मागलाई पनि सम्बोधन गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । निजी क्षेत्रले बजेटमा सरकारले कच्चा पदार्थको आयातमा भन्सार दर केही प्रतिशत छुट गर्ने व्यवस्था गरेर स्वदेशी उद्योगको प्रबर्द्धनमा जोड दिएको पनि जनाएको छ ।