काठमाडौं, असोज १९ । पछिल्लो समय नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण दर ह्वात्तै बढेको छ । संक्रमण पुष्टि भएकामध्ये धेरैजसो काठमाडौं जिल्ला र उपत्यकाभित्रका छन । हाल काठमाडौंमा मात्रै २४ हजार ४६ जना संक्रमित छन भने उपत्यकाका तीन जिल्लामा २९ हजार ५ सय १७ जना संक्रमत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । देशभर संक्रमित संख्या ८७ हजार नाघिसकेका छन ।
संक्रमण बढेसँगै जनस्वास्थ्यविदहरुले ठूलो क्षति निम्त्याउन सक्ने चेतावनी दिएका छन । सरकारले तत्काल बढ्दो संक्रमणलाई न्युनिकरण गर्नुपर्ने सुझाव बिज्ञहरुको छ । बिज्ञहरुको अनुसार लक्षण देखिएकाको मात्रै पिसिआर परीक्षण गरिएकोले संक्रमित संख्या बढेको छ । सरुवा रोग टेकुका विशेषज्ञ डा. शेरबहादुर पुन लकडाउन हटाइएपछि जनस्वास्थ्यका मापदण्ड पालन नभएकाले संक्रमण बढेको बताउनु हुन्छ । उहाँले सरकारको कोरोना सम्बन्धि बनाएको मापदण्डले पनि संक्रमण बढेको जिकिर गर्नुभयो ।
’हामीले लक्षण नदेखिएकालाई परीक्षण नै नगर्ने भन्ने व्यवस्था गर्यौं, त्यसो गर्दा संक्रमित क्षेत्रबाट आएकाहरुबाट जोखिम बढ्यो र हाल संक्रमणदर उच्च छ,’ पुनले भन्नुभयो । उपत्यका बाहिरबाट आएका मानिसमा लक्षण नदेखिएको भए पनि उनीहरु हटस्पटबाट आएकाले संक्रमणलाई ब्यापक बनाएको उहाँको भनाइ छ । डाक्टर पुनका अनुसार काठमाडौं उपत्यकामा संक्रमण बढनुको अर्को कारण जनस्वास्थ्य मापदण्ड पालनमा कडाइ नगरिनु हो । पढेलेखेका र जान्ने बुझ्नेले नै संक्रमणको जोखिम बढाइरहेका छन, सबै कुरा जानेको छ । समाचारमा पनि पढेकै छ तर सचेत हुने मान्छेले संक्रमण बढाएका छन,’ पुनले भन्नुभयो । यता संक्रमित बढदै जाने र मापदण्ड पालना नहुने अवस्था आएपछि सरकार जरिवाना गराउने निश्कर्षमा पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार शिक्षित नै अराजक बनेपछि नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई जरिवाना गर्ने निर्णय भएको बताउनु हुन्छ । हालसम्म पालना नगरेकैले संक्रमण ब्यापक भएको भन्दै जरिवाना गर्ने निर्णय पुगेको उहाँले जानकारी दिनुभयो। ’जरिवानाको दररेट तोकी प्रस्ताव पठाउने निर्णय भएको छ,’ गौतमले जनताटाइम्ससँग भन्नुभयो ।
दशैंमा उच्च जोखिम
सरकारले दशैंको बेलामा संक्रमण बढ्नसक्ने भन्दै आफू रहेकै स्थानमा मनाउन सुझाएको छ । जहाँ छौं, त्यही दशैं मानौं भन्ने सरकारको आग्रह छ । बिज्ञहरुले जनस्वास्थ्यका मापदण्ड पालनमा कमजोरीकै कारण नेपालमा संक्रमणले अझै ब्यापक रुप लिने र त्यसले ठूलो क्षति हुनसक्ने चेतावनी पनि दिएका छन ।कोरोना रोकथाम तथा नियन्त्रणमा सुरुदेखि नै सक्रिय सांसद दिब्यमणि राजभण्डारी जनस्वास्थ्यको मापदण्ड पालनामा निकै कडाई गर्नुपर्ने बताउनु हुन्छ ।
स्वास्थ्य मन्त्रालयले समयमै उचित ध्यान नदिँदा अहिलेको अवस्था आएको भन्दै सांसद राजभण्डारी अव थप त्रुटी हुन नहुनेमा जोड दिनुहुन्छ । ब्यापक पिसिआर परीक्षण गरी भेन्टिलेटर र आइसियूको बिस्तारमा ध्यान नदिए अवस्था भयावह हुने चेतावनी पनि सांसद राजभण्डारीले दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्