जनता टाइम्स

१९ आश्विन २०७७, सोमबार १६:०६

२८ वर्षीया महिलाले प्रसुति गृहमा जन्माइन् ५ शिशु


काठमाडौं, असोज १९

एकै पटकमा ५ ओटा बच्चालाई थापाथलीस्थित परोपकार प्रसुति गृहमा एक महिलाले जन्म दिनुभएको छ । आज नुवाकोटको २८ वर्षीया सोमिका तामाङले ५ शिशुलाई जन्म दिनुभएको हो । ५ मध्ये चार जना जीवित रहेको र १ जना भने जन्मनुअघि नै मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।

अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत बिहान मृतसहित ५ शिशुको जन्म भएको हो । शल्यक्रियामा डा. सुवेदीलाई डा. दिप्ती श्रेष्ठ, डा. नमिता सिङदेनले साथ दिनुभएको थियो भने एनेस्थेसियामा डा. मुकेश कुमारले नेतृत्व गर्नुभएको थियो । त्यस्तै, नर्सिङ टिमको नेतृत्व रविना प्रजापतीले गर्नुभएको थियो ।

बाल रोग विशेषज्ञ डा. श्रद्धा श्रेष्ठले बच्चाहरुको स्वास्थ्य अवस्था हेर्नुभएको थियो । अस्पतालका अनुसार हाल जीवित जन्मिएका ४ शिशुलाई एन आइसियुमा अब्र्जभेसनका लागि राखिएको छ भने जिवित सबै शिशुको स्वास्थ्य अवस्था सामान्य छ । शिशुको तौल क्रमशः १ किलो ९ सय ग्राम, १ किलो ८ सय ग्राम, १ किलो ६ सय ग्राम र ८ सय ग्राम रहेको छ । महिलाले एकै पटकमा ५ बच्चा जन्माएको केस दुर्लभ मानिन्छ ।