जनता टाइम्स

१९ आश्विन २०७७, सोमबार २०:००

यस्तो छ स्वाभिमान जोगाउने सेनाले बनाएको लिपुलेक-तिंकर जोड्ने गोरेटो बाटो (फोटो फिचर)


काठमाडौं, असोज १९ । नेपाली सेनाले बहुप्रतिक्षित दार्चुला जिल्लाको व्यास गाउँपालिका २ स्थित घाँटीबगर गोरेटो बाटोको निर्माण सकेर प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । सेनाका सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई आज उक्त बाटो हस्तान्तरण गर्नुभएको हो । हस्तान्त्रणलगत्तै मुख्यमन्त्री त्रिलोचन भट्टले उक्त बाटोको उदघाटन गर्नुभयो ।

घाँटीबगर इलाकामा करिब दुई मिटर चौडाइको ४ सय ५० मिटर गोरेटो बाटो नेपाली सेनाद्वारा निर्माण गरिएको हो । नेपाल सरकारको मन्त्रिपरिषदको वैशाख १४ को निर्णयअनुसार महाकाली करिडोर (दार्चुला–तिंकर सड्क योजना) अन्तर्गत उत्तरतर्फ रहेको ८७ किलोमिटर सडकखण्ड नेपाली सेनामार्फत निर्माण गराउने निर्णय गरेको थियो । उक्त खण्डको बाटो सम्पन्न भएपछि नेपालीहरुले दार्चुलाको सदरमुकामबाट माथिल्लो क्षेत्रमा जानको लागि भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

शौका समुदायलाई गाउँ फर्किन कठिनाई भएपछि सरकारले सो क्षेत्रमा बाटो बनाउने जिम्मेवारी नेपाली सेनालाई जेठ दोस्रो साता सुम्पेको थियो । तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ शुरु गरिएको उक्त बाटो निर्माणको काम वर्षातका कारण केही समय प्रभावित भएको थियो । चार महिनासम्म सेनाका ६५ तथा स्थानीय करिब ४० जनाको जनशक्ति दैनिक रुपमा परिचालन गरिएको थियो।

छाङरु गाउँका ९० परिवार तथा तिङ्कर गाउँमा बसोबास गर्ने करीब ६० परिवारलाई बसाइँ सर्न समस्या हुँदै आएको थियो । नेपाली सेनाले पहरो फोडेर बाटो बनाएपछि अब शौका समुदायलाई आफ्नै नेपाली भूमि भएर गाउँ फर्कन सहज भएको व्यास गाउँपालिकाका अध्यक्ष दिलीप बुढाथोकीले बताउनु भएको छ । स्वाभिमानको प्रतिक यस बाटो निर्माणपछि स्थानीयवासी निकै खुसी भएका छन । उक्त बाटो उदघाटनमा मुख्यमन्त्री भट्टसहित सुदूरपश्चिम प्रदेशका मुख्य सचिव रामकृष्ण सुवेदी, नेपाली सेनाका पृतिनापति निर्मलकुमार थापा, सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेललगायतको उपस्थिति थियो ।