जनता टाइम्स

२० आश्विन २०७७, मंगलवार १०:२९

प्रदेश–५ को स्थायी राजधानी र नामांकरण टुंग्याउन आज मतदान, यस्तो छ मत आँकलन


बुटवल, असोज २०

प्रदेश–५ को स्थायी राजधानी र नामकरणका विषयमा प्रदेशसभामा आज मतदान हुने भएको छ । मध्यान्ह १२ बजे बोलाइएको प्रदेशसभा बैठकमा मतदान गर्ने कार्यसूचि रहेको छ ।

प्रदेश सरकारले शुक्रबार दर्ता गरेको नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी क्षेत्र हुने भन्ने प्रस्तावमाथिको छलफल सोमबार सकिएको थियो । नेकपाका सांसद देउखुरीका पक्षमा रहेकाले सो प्रस्ताव पारित हुने निश्चित जस्तै छ । कांग्रेसले भने विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

सभामुख पूर्णबहादुर घर्तीले छलफल सकिएको १८ घण्टाभित्र संशोधन प्रस्ताव दर्ता गर्ने सदस्यका लागि प्रदेशसभा स्थायी राजधानी र नामकरणसम्बन्धी आन्तरिक कार्यविधि २०७७ को दफा ६ उपदफा १ बमोजिम १८ घण्टाको समय उपलब्ध गराएका छन् । बिहान साढे ८ बजेसम्म एउटा मात्र संशोधन प्रस्ताव दर्ता भएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार जनता समाजवादी पार्टी, नेपालका तर्फबाट प्रदेशको नाम थारुहट–अवध–मगरात नामाकरण गर्न माग गर्दै संशोधन दर्ता भएको छ । पार्टीका प्रमुख सचेतक सहसराम यादव र सदस्य पुर्मती ढेंगा मगरले संयुक्त संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

प्रदेशसभाका नेकपाका प्रमुख सचेतक एवं कार्य व्यवस्था परामर्श समितिका सदस्य भूमिश्वर ढकालले मंगलबारको बैठकमा संशोधन दर्ता गर्ने संशोधनकर्तालाई सुरुमा बोल्ने मौका दिइने र त्यसलगत्तै प्रस्तावलाई मतदान प्रक्रियामा लैजाने बताउनु भयो ।