काठमाडौं, असोज २०
नेपाली कांग्रेसका नेता गगन थापाले प्रदेश–५ को प्रदेशसभामा सोमबार भएको घटना संसदीय मर्यादा र प्रतिष्ठा विपरीत रहेको बताउनु भएको छ । उहाले यस्ता घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने माग समेत नेतृत्वसँग गर्नुभएको छ ।
प्रतिनिधिसभा सदस्य समेत रहनु भएका थापाले प्रतिपक्षले सरकारको जस्तोसुकै नाजायज हठका विरुद्ध आवाज उठाउन पाउने भएपनि आवाज उठाउने तरिका संसदीय अभ्यास भित्रै रहेको उल्लेख गर्नुभयो । उहाले प्रतिपक्षको भूमिका के–कस्तो हुने भन्नेमा हामीले आफ्ना नेता कार्यकर्तालाई सिकाउनुपर्ने समेत भन्नुभएको छ । सोमबारको प्रदेशसभा बैठकमा सत्तारुढ दलले स्थायी राजधानी र नामाकरणको प्रस्ताव अगाडी बढाएपछि कांग्रेसका सांसदले कुर्सी तोडफोड गरेका थिए ।
यस्तो छ उहाले घटनापछि सामाजिक सञ्जालमा राखेको विचार
प्रदेश ५ को संसदभित्र प्रतिपक्षबाट हिजो भएको व्यवहार संसदीय मर्यादा र प्रतिष्ठा विपरीत छ । संसदमा आफ्नो फरक मत राख्ने र सरकारको विरोध गर्ने अनेकन तरिका छन्। हिजोको तरिका संसदभित्र पूर्णत अवाञ्छनीय छ । हामीले यो घटनामा आत्मालोचना गर्दै गल्ती गर्नेलाई कारबाही पनि गर्नै पर्छ।
प्रतिपक्षले सरकारको जस्तोसुकै नाजायज हठका विरुद्ध आवाज उठाउन पाउँछ, पाउनु पर्छ।आवाज उठाउने तरिका संसदीय अभ्यास भित्रै छ। प्रतिपक्षको भूमिका के(कस्तो हुने भन्नेमा हामीले आफ्ना नेता कार्यकर्तालाई सिकाउन नसकेकै हो।
प्रतिपक्षले आवेगमा विवेक गुमाउँदा सरकारको असंसदीय तथा निन्दनीय व्यवहारका विरुद्ध बोल्ने नैतिक बल पनि गुमाउनु पर्छ । नत्र मन्त्रीको “घिसारेर निकालिहाल्” को प्रतिकार यति कमजोर हुँदैन थियो। आवेग र आवेशमा गरिएको व्यवहारले प्रतिपक्षकै मुद्दालाई कमजोर पार्छ भन्ने कुरा बुझौँ।
प्रतिक्रिया दिनुहोस्