हिजो बुटवल अस्थायी राजधानी हुँदा दाङका केहीले भद्र नेता शङ्कर पोखरेललाई अभद्र पाराले सरापे र भने, शङ्कर पोखरेलले मुख्यमन्त्रीसँग राजधानी साटे ! आज बुटवलबाट राजधानी सर्दा विष्णु पौडेललाई त्यहाँका केहीले सत्तोसराप्दै छन् र भन्दै छन्, अमुक मन्त्री पदसँग विष्णुले राजधानी साट्दै छन् ! सत्य के हो भने कसैले केही साटेका थिएनन् । स्मरण रहोस्, विष्णु पौडेल विकासका खम्बा हुन् भने शङ्कर पोखरेल विचारका अविचल पहाड ! दुवै नेता नेकपाका पूँजी हुन् !
प्रा.डा ऋषिराम शर्मा
लोकतन्त्रका नाममा पटकपटक कुर्सीप्राप्तिका लागि, निजी गुठी व्यवस्थापनका लागि र कुण्ठा उपचारका लागि अनेकौँ तिकडम र लीलामार्फत् लज्जावनत संघीय लोकतन्त्रको शिर बुटवलको प्रदेश सभामा देखिएको कुर्सी ताण्डवलीलाले पुनः लत्रक्कै निहुरिएको छ ! भनिन्छ, बिरालाले जब आफूलाई चारैतिरबाट ढोका थुनेर आफू मारिन लागेको अनूभूत गर्छ, त्यति बेला ऊ मान्छेको घाटीमा नङ्ग्रा गाड्न आइपुग्छ । नेपालमा आफूलाई लोकतन्त्रको एकमात्र ब्रान्ड ठान्ने पाको भनिएको दलले के आफू सक्किनै लागेको ठहर गरेर प्रदेश सभाको घाँटीमा झम्टन जाइ लागेको हो ? नत्र के जातिलाई भन्दा केजातिलाई लाज भनेझैँ बुटवलको प्रदेश सभामा कुर्सी बजार्दै विध्वंशको शौच गर्नुको रहस्य के हो त ?
लोकतन्त्रको जन्मका पृष्ठभूमिमा नेपाल आमाले जनयुद्धका क्रममा आफ्ना खरबौँका भौतिक संरचना खरानी बनेको अतीतमा टुलुटुलु हेरिन् ! लोकतन्त्रको खेतीमा फलेको कानुनी र न्यायपूर्ण शासनको फल समान रूपमा चाख्न पाउलान् भनेर परिवर्तनको सपना देखाउँदै जनआन्दोलनका क्रममा आफ्ना लाखौँ सन्तानलाई घरभित्रबाट आन्दोलनको मोर्चामा खटाइन् ! अनि विद्रोह र आन्दोलनको आधीबेहरी भित्रबाट एक सभ्य,सुसंस्कृत र कानुनी राज्यको सुन्दर सपना देखिन् ! मुटुमा भक्कानो पारेरै भए पनि आफ्ना होनहार हजारौँ सन्तानको रगतले लोकतन्त्रको मौलो लत्पतिएको पनि आँखाबाट बलिन्द्र धारा आँसु बर्बर्ती झार्दै हेरिरहिन्! विद्रोह, ध्वंश र विनाशको चक्रवात तथा सुनामी बेहोरेकी अभागी नेपाल आमाले अब त्यस्तो कहिल्यै नहोस् भनेर जपना गरिरहिन् ! आज नेपाल आमाको त्यो जपना र सपनामा खिया लाग्न थालेको अनुभूत हुँदो छ ! लोकतन्त्रको बोटमा फलेका फलहरू पारिवारिक, गुठी वा राजनीतिक लगानी नामको सिन्डिकेट शैलीमा लोकतन्त्रको हाँगै लाछेर खाने प्रवृत्ति मौलाउँदो छ !
लोकले केही वर्ष पालो पर्ख र छेउमा बस भनेका नेताहरूलाई जबर्जस्ती माझमा आउन ठेल्दै ल्याएर बबण्डर मच्चाउने … मुन्द्रे सिन्डिकेटधारी नेता सन्तानका हर्कतहरू देखेर अहिले पनि नेपाल आमा आजित भेरहेकी होलिन् ! बुटवल वितण्डाकै कुरा गरौँ न ! बुटवल र त्यहाँबाट सार्न लागिएको राजधानीको बारेमा बुटवलको मन दुखेकै छ, बुटवलको चित्त कुँडिएकै छ ! तर एउटा ध्रुवसत्य कुरा के हो भने बुटवललाई राजधानी बनेर विकसित हुनु छैन र भएको पनि हैन ! बुटवल भौतिक संरचनाहरूले परिपूर्ण र विकसित भएर राजधानी भएको हो । भनिन्छ, आज मेचीदेखि महाकालीसम्मको तराई भागका कुनै पनि ठाउँ विकास र सम्पन्नताको दृष्टिले बुटवलका हाराहारीमा पुग्न अझै सकेका छैनन ।
बुटवलको यो विकासको राज वा रहस्यका पछाडि सिङ्गो लुम्बिनी अञ्चलका ती वाम जनप्रतिनिधिहरूको बढी योगदान देख्छ बुटवल ! जजसले त्यसक्षेत्रलाई चुनावी विजय प्राप्त गरेर वा पार्टीको जिम्मेवार तहमा रहेर बुटवललाई सुम्सुम्याए र माया गरे ! बुटवललाई मात्र सुकिलो पारेनन् अपितु सिङ्गो रुपन्देहीलाई रूपवान् तुल्याए ! अझै बुटवल र सिङ्गो रुपन्देहीका विकासका जसको सर्वाधिक सेयर विष्णु पौडेलका पोल्टामा हाल्छ बुटवल ! उनीप्रति चानचुने विश्वास थिएन बुटवलको ! बुटवल भनौँ वा रूपन्देहीले विष्णुलाई आफ्नो रूप फेर्न सक्ने नेताका रूपमा विश्वास गरेको छ र उनले रुपन्देहीको मुटु दुखाएका छैनन् र कहिल्यै दुखाउन्नन् भन्ने पनि ठान्छ । नत्र प्रधानमन्त्री पदमै रहेर चुनाव लडेका सेलिब्रेटी बाबुरामलाई बबुरो बनाएर पराजित गरी विजयको वरमाला बिष्णुलाई पहिराउने थिएन बुटवलले ! मात्रा लागेका कखरा पढ्दा बि पछि बु आएझैँ अहिले पनि विष्णु र बुटवल सँगसँगै आउँछ भन्छन् त्यहाँका जनता !
र आज बुटवलबाट राजधानी सरेको कुराको अपजसको भारी नेकपा वा एक्लो विष्णुका शिरमा लादेर आगामी चुनावमा सत्ताको चुनावी रोटी सेक्ने सपना देखेर यो वितन्डा कसले मच्चाएको हो ? भन्ने घामजत्तिकै छर्लङ्ग नै छ ! अहिले बालेको बेमौसमी आगोमा त्यतिबेला रोटी सेकिएलान् वा नसेकिएलान् त्यो त समयले फैसला गर्ला तर आज लोकतन्त्रका पहरेदार हुँ भन्नेहरूबाट भएको ध्वंशबाट लोकतन्त्रका मुहारमा मोसो दल्ने कुकृत्य पनि क्यामराले कैद गरी राखेका हुँदा तिनको पनि हिसाबकिताब हुने नै होला !
परिबन्द, लोभ वा अन्य कुनै कारणमा परेर हो वा किन हो, विष्णु पौडेलको नाम विवादास्पद जग्गासँग पनि जोडिने गर्छ ! र यसरी जोडिँदा रूपन्देहीको मन दुख्ने पनि गर्छ ! यदि साँच्चै हो भने त्यसरी जोडिने गरी उहाँ कसैसँग नजोडिनु भए हुन्थ्यो भन्ने हृदयदेखि ठान्दै राजनीतिक रूपमा उहाँलाई दाग नलागोस् भनी बेलाबेला प्रार्थना पनि गर्छ रे बुटवल ! हिजो बुटवल अस्थायी राजधानी हुँदा दाङका केहीले भद्र नेता शङ्कर पोखरेललाई अभद्र पाराले सरापे र भने, शङ्कर पोखरेलले मुख्यमन्त्रीसँग राजधानी साटे ! आज बुटवलबाट राजधानी सर्दा विष्णु पौडेललाई त्यहाँका केहीले सत्तोसराप्दै छन् र भन्दै छन्, अमुक मन्त्री पदसँग विष्णुले राजधानी साट्दै छन् !
सत्य के हो भने कसैले केही साटेका थिएनन् । स्मरण रहोस्, विष्णु पौडेल विकासका खम्बा हुन् भने शङ्कर पोखरेल विचारका अविचल पहाड ! दुवै नेता नेकपाका पूँजी हुन् ! र बुटवल विकासको राजधानी हो ! यो व्यापारिक राजधानी हो र यो औद्योगिक राजधानी समेत हो ! यसलाई सूचना र प्रविधिको राजधानी बनाऊँ ! स्मरण रहोस् मेलबर्न, सिडनी र न्यूयोर्क तत्तत् स्थानका राजधानीलाई जित्ने सहर हुन् ! बुटवललाई त्यस्तै बनाऊँ ! लोकतन्त्रको धज्जी उडाउने गरी लोकतान्त्रिक अश्लील रत्यौली बन्द गरौँ ! लोकतान्त्रिक मान्यता र व्यवस्था अङ्गीकार गरे पछि त्यसै अनुरूप चलौँ ! आतङ्की आचरण त्यागौँ !
नेपालमा आफूलाई लोकतन्त्रको एकमात्र ब्रान्ड ठान्ने पाको भनिएको दलले के आफू सक्किनै लागेको ठहर गरेर प्रदेश सभाको घाँटीमा झम्टन जाइ लागेको हो ? नत्र के जातिलाई भन्दा केजातिलाई लाज भनेझैँ बुटवलको प्रदेश सभामा कुर्सी बजार्दै विध्वंशको शौच गर्नुको रहस्य के हो त ?
हो, आइसकेको राजधानी सर्दा बुटवललाई ठुलै घाउ लागेको छ ! त्यसलाई विकास र अवसरका मलहम लगाएर निको पारौँ ! त्यसलाई कोट्याएर घाउ र क्यान्सर बनाउने बाँदर प्रवृत्ति छाडौँ ! यो नेकपाका दुई अध्यक्षले एक मत भएर गरेको निर्णय हो भन्ने पार्टीका असन्तुष्टहरूले नबुझी धरै छैन ! र त्यसमा लुम्बिनीका र रूपन्देहीका केही नेताहरूलाई मुछ्ने अनि प्रतिपक्षले बालेको आगो ल्याएर आफ्नो टौवा नसल्काऊँ ! प्रतिपक्ष यति गम्भीर कुरामा केन्द्रमा मौन छ, प्रदेशमा ताण्डव लीला मच्चाइरहेछ ! लोकतन्त्रको पहरेदारका यी कृत्यहरूका कारण आफूले जेल नेल र निर्वासनमा बसेर बचाएको नेपाली काङ्ग्रेस पार्टीका सांसदको यो हविगत देखेर विपी, गणेशमान, किसुनजी र सुशील दाहरूको आत्मा कति दुख्यो होला !
त्यसैले सबै मर्यादित बनौँ ! संसदभित्र र सडकमा गरिने ध्वंसात्मक ताण्डव बन्द गरौँ ! असहमति पोख्ने र प्रकट गर्ने लोकतान्त्रिक विधि प्रयोग गरौँ ! (दा)ङ र (रू)पन्देही जिल्लाको सङ्क्षिप्त रूप दारू बन्छ भन्दैमा माननीयज्यूहरू झथाभावी दारू पिएझैँ गरी कोकोहोलो मच्चाएर र तोडफोड गरेर किशोर लोकतन्त्रको झोली लाजैलाजले भर्ने काम बन्द गरौँ !
प्रतिक्रिया दिनुहोस्